काठमाडौँ । अभियान्ता मुस्कान खातुनले भौतिक पूर्वाधार र ठूला योजनाले मात्र देश समृद्ध नहुने बताएकी छन् । स्वतन्त्र नागरिक अभियान नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशमा वास्तविक परिवर्तनका लागि आर्थिक र राजनीतिक रूपान्तरण अनिवार्य रहेको धारणा राखिन् ।
‘कुनै पनि देश सडक, भवन र ठूला योजनाले मात्र समृद्ध बन्दैन,’ खातुनले भनिन्, ‘जबसम्म देशमा आर्थिक र राजनीतिक रूपमा सही परिवर्तन हुँदैन, तबसम्म समग्र मुलुकको अवस्था बदलिँदैन ।’ कार्यक्रमले युवाहरूको भावना समेटेको उल्लेख गर्दै उनले स्वतन्त्र नागरिक अभियानको मञ्च जेनजी युवाहरूको आवाज बनेको महसुस भएको बताइन् ।
यसैबीच, देश परिवर्तनको चाहनासहित युवाहरूले गरेको आन्दोलन र त्यसको सुनुवाइ नभएकोप्रति उनले गम्भीर चिन्ता व्यक्त गरिन् । अझै पनि जेनजीका माग बुझ्ने सरकार बन्न नसकेको उनले दाबी गरिन् ।
मुलुकमा व्याप्त गरिबी, अशिक्षा र सामाजिक कुरीतिकाका विषयमा बोल्दै खातुनले भनिन्, ‘समाज अझै पूर्ण रूपमा परिवर्तन हुन सकेको छैन । आज पनि जात र धर्मका आधारमा हिंसा भइरहेका छन् ।’
आर्थिक अभाव र रोजगारीको विकल्प नहुँदा युवाहरू विदेश पलायन हुन बाध्य भएको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै उनले स्वदेशमै उद्योगधन्दा खोल्न माग गरिन् । यसो हुन सके विदेशिएका युवा पनि स्वदेश फर्कने उनको भनाइ छ ।



प्रतिक्रिया