‘बालेन शाह देश बचाउने नायक बनून्’– अभियन्ता खनाल


काठमाडौँ । सुशासन अभियfन्ता रञ्जन खनालले मुलुकको समृद्धि र परिवर्तनका लागि दृढ नेतृत्वको आवश्यकता रहेको बताएका छन् । स्वतन्त्र नागरिक अभियान नेपालद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै खनालले मुलुकको हितका लागि बालेन शाह नेतृत्वको वर्तमान रास्वपा सरकारले साहसिक कदम चाल्नुपर्ने धारणा राखे ।


‘यो देशको समृद्धिका लागि यदि संविधान र राष्ट्रपति बाधक बन्छन् भने मैले बालेन शाहलाई तानाशाह बन्न भनेको छु,’ खनालले आफ्नो भनाइ स्पष्ट पार्दै भने, ‘यसको मतलब उहाँ हिटलर बनून् भन्न खोजेको होइन, तर देश बचाउनका लागि एउटा बलियो र दृढ नायक बन्नुपर्छ भन्न खोजेको हुँ ।’


पछिल्लो समय चर्चामा रहेको सुकुम्बासी समस्या र विस्थापनका विषयमा टिप्पणी गर्दै खनालले वर्षाौँदेखि नागरिकलाई सुकुम्बासी बनाएर राख्ने राजनीतिक दल र प्रणाली दोषी रहेको उल्लेख गरे ।


‘अहिले सुकुम्बासीका कुरा उठेका छन्, तर उनीहरूलाई लामो समयसम्म सुकुम्बासी बनाएर राखेको कसले हो ?’ खनालले भने, ‘वर्तमान सरकारले उनीहरूलाई सुकुम्बासी मात्र होइन, वास्तविक देशवासी बनाउन चाहेको छ । बसोबास व्यवस्थापनमा केही कठिनाइ अवश्य देखिएका छन्, त्यसैले सरकार कुशल भएर सुकुम्बासीलाई उचित व्यवस्थापनसहित देशवासी बनाउनतर्फ लागोस् ।’


उनले देश परिवर्तनका लागि आन्दोलनमा लागेका युवाहरू अझै पनि जेलमा रहेको भन्दै चिन्ता व्यक्त गरे ।
जेनजी पुस्ताको आन्दोलनकै बलमा ३६ वर्षका बालेन देशको प्रधानमन्त्री बन्न सफल भएको भन्दै खनालले यसमा आफूलाई गर्व लागेको बताए । उनले स्वतन्त्र नागरिक अभियान कुनै पनि राजनीतिक दलभन्दा बाहिर रहेको पनि स्पष्ट पारे ।
अभियानका संयोजक एवं वरिष्ठ पत्रकार ऋषि धमलाको प्रशंसा गर्दै खनालले भने, ‘ऋषि धमलाजीले चुनाव जितेर गएको भए सदनमा हराउनुहुन्थ्यो होला, तर आज यो अभियानको महानायक बन्ने ऐतिहासिक अवसर उहाँलाई मिलेको छ । यो अभियान भुइँमान्छेको वास्तविक आवाज बन्न सकोस् ।’


संवैधानिक राजा ल्याउँदा के बिग्रन्छ ? मुलुकको पहिचान र व्यवस्थाका बारेमा बोल्दै अभियन्ता खनालले भने, ‘धर्मनिरपेक्षताको नाममा देशको पहिचान गुमिरहेको छ । देशको हितका लागि एउटा मर्यादा र संविधानभित्र रहने संवैधानिक राजा ल्याउँदा के बिग्रन्छ ? यसमा सुधार गर्नुपर्छ ।’


उनले प्रधानमन्त्री बालेनलाई पूर्वराजा ज्ञानेन्द्र शाहमाथि परेको अन्यायका बारेमा समेत बोल्न र कदम चाल्न आग्रह गरे ।
यसैबीच, खनालले एकपटकको नेपाली, सधैँको नेपाली हुनुपर्ने मुद्दा कार्यान्वयन गर्न पनि सरकारलाई सुझाव दिए । सत्ताको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुझाव दिँदै उनले भने, ‘रास्वपाले आफ्नो चुनावी घोषणापत्रको पाँचौँ बुँदामा राखेको उक्त नारा र प्रतिबद्धतालाई तुरुन्त कार्यान्वयनमा लैजाओस् ।’


विगतमा राजा महेन्द्रले बर्मामा रहेका नेपाली नागरिकहरूलाई नेपाल फर्काएर स्थापित गराएको इतिहास स्मरण गर्दै खनालले विदेशमा रहेका मूलबासी नेपालीहरूलाई स्वदेश नफर्काएसम्म नेपालको वास्तविक विकास असम्भव रहेको ठोकुवा गरे ।
‘विगतमा रवि लामिछानेले चुनाव जितेर पनि नागरिकता विवादका कारण पद खारेज भएको तीतो यथार्थ हाम्रासामु छ, अब अरू कुनै नेपालीले त्यस्तो नियति भोग्नु नपरोस्,’ खनालले थपे, ‘सरकारले विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको यथार्थ आँकडा संकलन गरोस् र उनीहरूलाई स्वदेश फर्काउने योजना कार्यान्वयन गरोस् ।’


जेनजी युवाहरूले देशमा सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि उठाएको माग पूरा गर्न पनि वर्तमान सरकार पूर्ण रूपमा लाग्नुपर्नेमा उनले जोड दिए ।