काठमाडौं । आज लुम्बिनी र सुदूरपश्चिमका जिल्लाहरुमा तातो दिन तथा तातो लहर हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन हुनेछ भने तराई भू–भागमा तातो लहर हुने सम्भावना छ ।
दिपायल, धनगढी, नेपालगञ्जमा तातो हावाको लहर चल्ने छ । दिपालयमा आजको अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान छ । यसैगरी धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियस पुग्ने अनुमान छ ।
सुर्खेतको वीरेन्द्रनगर, दाङको घोराही र रुपन्देहीको भैरहवामा तातो दिन हुने पूर्वानुमान गरिएको महाशाखाले आज बिहान जारी गरेको सूचनामा उल्लेख छ ।
भैरहवाको अधिकतम तापक्रम आज ३८ देखि ४० डिग्री सेल्सियस रहने अनुमान छ । यसैगरी वीरेन्द्रनगरको अधिकतम तापक्रम ३७ देखि ३९ र घोराहीको अधिकतम तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियस रहने अनुमान छ ।
आज काठमाडौं उपत्यकासहित, बागमती, गण्डकी र कोशीका तराई तथा पहाडी जिल्लामा पानी पर्ने सम्भावना छ ।
आज दिउँसो काठमाडौं, पोखरा, ओखलढुंगा, धनकुटा, विराटनगर, जोमसोम, धरान, जिरी, ताप्लेजुङमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । यीनै क्षेत्रमा आज राति पनि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद विनोद पोखरेलका अनुसार आजदेखि वर्षा हुने ठाउँ र वर्षाको मात्रा पूर्वतिर बढ्ने सम्भावना छ । केही ठाउँमा भारी वर्षा पनि हुन सक्ने उनको अनुमान छ ।




प्रतिक्रिया