पशुपन्छी रोग अन्वेषण प्रयोगशालालाई ‘राष्ट्रिय रेबिज रिफरल प्रयोगशाला’को जिम्मेवारी


कञ्चनपुर, ११ जेठ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालालाई राष्ट्रियस्तरमा रेबिज रोगको अनुसन्धान तथा निदानात्मक गतिविधिहरू सञ्चालन गर्नेगरी ‘राष्ट्रिय रेबिज रिफरल (प्रेषित)प्रयोगशाला’ को जिम्मेवारी प्रदान गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस प्रयोगशालालाई देशभरिबाटै पशुहरूको रेबिज रोग निदानका लागि शङ्कास्पद नमूनाहरू प्राप्त गरी परीक्षण गर्ने तथा यससम्बन्धी अनुसन्धान र अध्ययन गर्ने विशेष जिम्मेवारी प्रदान गरेको हो ।

यसअघि सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाहरूलाई मात्र आफ्नो कार्यक्षेत्र बनाई पशुपन्छी तथा पशुबाट मानिसमा सर्ने रेबिजलगायतको (जुनोटिक) रोगहरूको अन्वेषण र निदान गर्दै आएको यस प्रयोगशालाको भूमिका अब देशव्यापी बनेको छ । यो नयाँ जिम्मेवारीसँगै अब देशभरिबाटै पशुहरूमा लाग्ने घातक रेबिज रोगको पहिचानका लागि शङ्कास्पद नमूनाहरू सङ्कलन गरी प्रयोगशालामै वैज्ञानिक विधिबाट परीक्षण गरिनेछ ।

प्रयोगशालामा पिसिआर र फ्याट विधिबाट रोगको द्रुत रूपमा परीक्षण गर्नका लागि अत्याधुनिक उपकरण तथा आवश्यक जनशक्तिको क्षमता विकासको कार्य भइसकेको प्रयोगशालाका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले बताए । उनका अनुसार प्रयोगशालाले रेबिज रोग अन्वेषण तथा निदानका लागि चौबीसैँ घण्टा आकस्मिक सेवा दिँदै आएको छ ।

“गत वर्ष नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)को प्राविधिक तथा संरचनागत सहयोगमा प्रयोगशालालाई राष्ट्रियस्तरको रिफरल प्रयोगशाला बनाउन आवश्यक पर्ने भौतिक पूर्वाधार र संरचनागत सुधारका कार्यहरू सम्पन्न गरिएको छ”, वरिष्ठ पशु चिकित्सक जोशीले भने, “जसले यसको प्राविधिक तथा परीक्षण क्षमतालाई निकै उच्च बनाएको छ ।”

प्रयोगशालालाई आगामी दिनमा अन्तरराष्ट्रियस्तरको बनाउने र ‘एक स्वास्थ्य’को अवधारणाअनुसार भविष्यमा मानिसमा समेत रेबिज रोग भए÷नभएको परीक्षण सेवा सञ्चालन गर्ने दीर्घकालीन सोच बनाइएको उनले जानकारी दिए ।

यस प्रयोगशालाले सन् २०२० मा कोभिड–१९ सङ्क्रमण फैलिएसँगै आफ्नो जनशक्ति र प्रविधिको उपयोग गरी सुदूरपश्चिम प्रदेशमा मानिसको नमूनाको कोभिड परीक्षण पिसिआर विधिबाट गरेर जनस्वास्थ्य सङ्कटको घडीमा महत्वपूर्ण योगदान पु¥याएको थियो ।

हालका दिनहरूमा यस प्रयोगशालाले रेबिज रोग नियन्त्रणका लागि राष्ट्रियस्तरमै उदाहरणीय काम गर्दै आएको छ । नेपाललगायत विश्व पशु स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा रेबिज सङ्क्रमित कुकुरको टोकाइबाट हुने मानिसको मृत्युलाई शून्यमा झार्ने जुन विश्वव्यापी लक्ष्य राखेका छन् । सो लक्ष्य हासिल गर्नमा यस प्रयोगशालाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास वरिष्ठ पशु चिकित्सक जोशीले व्यक्त गरे ।

रेबिजको निदानका लागि मृत पशुको मष्तिष्कको नमूना सङ्कलन गर्नु आफैँमा अत्यन्तै कठिन, संवेदनशील र जोखिमपूर्ण कार्य मानिन्छ । नेपालका धेरै प्राविधिक जनशक्ति यस परिष्कृत र जोखिमपूर्ण प्रक्रियाको बारेमा प्रर्याप्त रूपमा सूचित तथा प्रशिक्षित नभएका कारण प्रयोगशालाले नमूना स¬ङ्कलन कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन ‘भर्चुअलअर्थात् अनलाइन माध्यमबाट प्रत्यक्ष सहायता सेवा’ को समेत सुरुआत गरेको छ ।

यस सेवाको माध्यमबाट अब देशभरिका पशु स्वास्थ्य प्राविधिक तथा सरोकारवालाहरूले इन्टरनेटमार्फत प्रत्यक्ष प्राविधिक मार्गदर्शन प्राप्त गरी सुरक्षित रूपमा नमूना सङ्कलन गरेर प्रयोगशालामा पठाउन सक्नेछन् ।

वरिष्ठ पशु चिकित्सक जोशीका अनुसार रेबिज परीक्षणका लागि ‘फ्याट’ प्रविधिलाई विश्वमै भरपर्दो र सर्वोत्तम (गोल्ड स्ट्यान्डर्ड टेस्ट) मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनले पनि रेबिज परीक्षणका लागि यसै विधिलाई मान्यता दिएकाले सोही प्रविधि र पिसिआर दुवै माध्यमबाट रेबिज रोगको निदान र परामर्श सेवालाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिएको उनले बताए । रासस