डिजिटल प्लेटफर्मबारे संसदीय समितिमा मन्त्री गौतमले गराइन् जानकारी


काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सरकारले कानून निर्माणमा नागरिकलाई सहभागी गराउनका लागि डिजिटल प्लेटफर्म ल्याइएको जानकारी संसदीय समितिमा गराएकी छिन् ।

सोमबार बसेको कानून, न्याय तथा संसदीय समितिको बैठकमा यसबारे जानकारी गराउँदै उनले प्रयोग विधिबारे पनि जानकारी गराइन् ।

जुनसुकै कानूनबारे जानकारी गराउन र आवश्यक लागेका संशोधनहरूबारे अब वेबसाइटबाटै काम गर्न सकिनेगरी काम अघि बढाइएको उनले बताइन् ।

कतिपय सांसदहरूले चारपटकमा बल्ल संसद्मा बोल्ने पालो आउने र त्यो बेलामा धेरै कानून संशोधनका कुरा एकैपटक उठाउन अप्ठेरो भएको गुनासा गर्ने गरेकाले यो प्लेटफर्म अझै सहज हुने उनको भनाइ छ ।

‘कानुनहरू खोज्नुपर्‍यो भने कहाँ गएर खोज्ने ? कसरी थाहा पाउने ? भन्ने चिन्ता छ । मन्त्रालयले अहिले तीनै तहका मौजुदा, संशोधित कानुनलाई एकै ठाउँमा संकलन गर्ने काम हामीले गरिरहेका छौं,’ उनले भनिन् ।