सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री वितरण


सिरहा, ११ जेठ । मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लहान नगरपालिका–का १२५ जना सुत्केरी र गर्भवतीलाई पोषण प्याकेज वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले स्वास्थ्य चौकी ढोडनामा आज एक कार्यक्रमका बीच उक्त सामग्री वितरण गरेका हुन् ।

नगरपालिकाले विगत चार वर्षदेखि प्रत्येक महिनामा फरक–फरक वडामा पुगेर यस्ता पोषण प्याकेज वितरण गर्दै आएको छ । पोषण प्याकेजमा चामल, दाल, नुन, तेल, चनालगायत खाद्यान्न सामग्रीका साथै वर्षायाममा लामखुट्टेको प्रकोप बढी हुने भएकाले डेङ्गीलगायत रोगबाट बच्न झुल समेत प्रदान गरिएको हो ।

नगरप्रमुख चौधरीले भने, “गर्भवती र सुत्केरीको स्वास्थ्य सुनिश्चित गर्नु हाम्रो प्रमुख प्राथमिकता हो । यस्ता कार्यक्रमले सचेतना दिनुकको साथै उनीहरूको पोषणस्तर सुधार तथा स्वास्थ्य सेवामा पहुँच सहज बनाउने हाम्रो उद्देश्य हो । आगामी दिनमा यसलाई अझ प्रभावकारी ढङ्गले विस्तार गरिनेछ ।”

स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीका अनुसार, पोषण प्याकेज नियमित स्वास्थ्य परीक्षण गराउने महिलालाई लक्षित गरेर वितरण गरिएको हो । उनले थप जानकारी दिँदै भने, “नियमित जाँचमा सहभागी हुने महिलाको सङ्ख्या पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ ।”

महिला स्वास्थ्य स्वयंसेविकाले वडामा रहेका गर्भवती र सुत्केरीको प्रारम्भिक तथ्याङ्क सङ्कलन, व्यवस्थापन तथा सेवाको सहजीकरणमा महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे । रासस