काठमाडौं । काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.लाई घर खाली गर्न १५ दिने सूचना जारी गरेको छ । महानगरले मंगलबार ‘ग्यालेक्सी फोर के’ टेलिभिजन रहेको घर खाली गर्न प्रालिलाई १५ दिने सूचना जारी गरेको हो ।
सूचनामा समायवधिभित्र कानूनबमोजिम सरसमान नलगे महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० बमोजिम लिलाम हुने सूचनामा उल्लेख छ ।
‘निर्णय कार्यान्वयन गरेको ६ महिना पूरा भएकाले ग्यालेक्सी फोर केमा भएका सामानहरू लिलाम गरिपाऊँ भनी वादी मृगेन्द्र मिश्रको मिति २०८३ वैशाख २१ मा निवेदन पेश भएकाले यो सूचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा लेखिएको छ ।
२८ साउन २०८२ मा उच्च अदालत पाटनबाट दुई महिनाभित्र न्यायिक समितिबाट भएको निर्णय कार्यान्वयन गर्नू भनेर महानगरपालिका समेतको नाममा परमादेशको आदेश जारी भएको थियो ।
अदालतको आदेशबमोजिम १४ कात्तिक २०८२ मा महानगरबाट टोली खटिएर निर्णय कार्यान्वयन गरिएको सूचनामा उल्लेख छ ।
त्यसअघि मिश्रले भाडा असुल उपर गरी घर जग्गा खाली गराइदिन भन्दै गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईको नाममा महानगरपालिको न्यायिक समितिमा मुद्दा हालेका थिए ।
जीबी राईले सहकारी संस्थाका रकम अपचलन गरी गोरखा मिडिया प्रालिबाट सन्चालित ग्यालेक्सी फोरके टेलिभिजनमा लगानी गरेका थिए । त्यसको खुलासा भएपछि उनी हाल फरार छन् ।




प्रतिक्रिया