संसद्‍मा देखियो रोचक दृश्य: खरेलले बोल्दाबोल्दै केरुङले औँला ठड्याउँदै पाखुरा सुर्किन थालेपछि


काठमाडौँ । प्रतिनिधिसभामा आजकाे बैठकमा विपक्षीहरूले विरोध जारी थियो । सत्तापक्ष रास्वपाका सांसद जगदीश खरेल रोष्टममा गएर सम्बोधन गर्दै थिए ।

प्रतिनिधि सभा बैठकमा पर्यटन विधेयक २०८२ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा खरेल रोष्टममा पुगेका थिए।

विपक्षी दलहरूले प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिएको विषयमा असन्तुष्टि जनाउँदै विरोध र नाराबाजी गरिरहँदा रास्वपा सांसद खरेलले विपक्षीमाथि नै खनिएपछि कांग्रेस सांसद नरेन्द्र कुमार केरुङ निकै आक्रामक रूपमा देखिए ।

उनले औँला ठड्याउँदै पाखुरा सुर्किन थालेपछि कांग्रेस प्रमुख सचेतक बासना थापाले केरुङलाई सम्हालेकी थिइन्।

आफ्नो मन्तव्य राख्ने क्रममा खरेलले विपक्षी दलहरूमाथि गम्भीर आरोप लगाएपछि संसद्‍को वातावरण बिग्रिएको थियो। विपक्षी दल झन आक्रामक रुपमा प्रस्तुत हुन थालेपछि सभामुख डोल प्रसाद अर्यालले संसद बैठकलाई १५ मिनेटको लागि स्थगित नै गर्नुपर्ने अवस्थाको सिर्जना भयो ।