वर्षाको कारण देशको कुन-कुन राजमार्ग छन् अवरुद्ध ?


काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्गहरू अवरुद्ध भएको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार बुधबार बिहानसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरूमा यातायात सेवा पूर्ण वा आंशिक रूपमा प्रभावित भएको छ।

कोशी प्रदेशमा पहिरो र बाढीका कारण सडक सञ्जालमा ठुलो क्षति पुगेको छ। पाँचथर जिल्लाको याङ्वारक गाउँपालिका वडा नम्बर ३ स्थित ओयाम बजार र रिजालभिरमा जेठ ८ गते गएको पहिरोका कारण मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरोध भएको छ।

बागमती प्रदेशमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमनमा रोक लगाइएको छ। काभ्रेपलाञ्चोक जिल्लाको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी मार्गमा चल्ने सम्पूर्ण सवारी साधनहरूलाई जेठ २२ गतेदेखि नै सम्भावित बाढीको खतराका कारण बीपी राजमार्ग सडक खण्डमा सञ्चालन गर्न रोक लगाइएको छ।

गण्डकी प्रदेशका केही स्थानमा भने यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ जलथलेमा जेठ १६ गते गएको पहिरो तथा रघुगंगा गाउँपालिका वडा नम्बर ३ तल्लो बैसरीमा जेठ ७ गते गएको पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड एकतर्फी मात्र सुचारु छ। सोही सडकखण्डको रघुगंगा गाउँपालिका वडा नम्बर १ उपल्लो बैसरीमा जेठ १३ गते बिहान खसेको नयाँ पहिरोले पनि सडकलाई एकतर्फी रूपमा मात्रै सञ्चालनमा राखेको छ।