ऋणीबाट असुल गरेरै सहकारीको बचत फिर्ता गर्दैछौँ : समिति


काठमाडौँ । समस्याग्रस्त सहकारी संस्थाका सदस्यहरूको बचत फिर्ताका लागि चक्रिय कोष स्थापना तथा सञ्चालनका सम्बन्धमा बजारमा फैलिएको भ्रमप्रति समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

राज्यकोषको रकमबाट बचतकर्ताको पैसा फिर्ता गरिएको भन्दै सार्वजनिक रूपमा गुनासो र भ्रम सिर्जना भएपछि समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै स्पष्ट जानकारी दिएको हो ।

समितिले हाल नेपाल सरकारद्वारा समस्याग्रस्त घोषित गरिएका २० वटा सहकारीका १० हजार रुपैयाँभन्दा कम बचत मागदाबी गरेका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने कार्यलाई चरणबद्ध रूपमा अगाडि बढाइरहेको छ। सो कार्यका लागि हालसम्म समितिमा चक्रिय कोष स्थापना भई खाता सञ्चालन नभएको र समस्याग्रस्त सहकारी संस्थाहरूबाटै भएको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम प्रचलित कानुनी व्यवस्था बमोजिम सम्बन्धित सहकारीकै बचतकर्ताहरूलाई निरन्तर रूपमा फिर्ता भइरहेको समितिले जनाएको छ।