काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले भारतमा चिया निर्यातमा हुँदै आएको समस्या सहजीकरणतर्फ अघि बढेको बताएकी छन् ।
प्रतिनिधिसभा बैठकको शून्य, आकस्मिक र विशेष समयमा सांसदहरूले मन्त्रालयसँग सम्बन्धित विषयमा उठाएका विषयमा आजको बैठकमा जवाफ दिँदै उनले वार्षिक दुई करोड ६१ लाख किलो चिया उत्पादन हुने गरेकामा पछिल्लो समय निर्यातमा आएको समस्या सहजीकरणको प्रयास गरी समाधानतर्फ गएको बताइन् । चिया निर्यातको ८० देखि ९० प्रतिशत भारतमा हुने गरेको पनि उनले जानकारी दिइन् ।
उनका अनुसार चिया निर्यातको सहजीकरणका लागि मन्त्रालयबाट गत चैत ३० गते नै पत्राचार गरिएको छ । यससम्बन्धी समस्या र समाधानका लागि भइरहेको प्रयासका विषयमा चिया विकास बोर्डसँग वैशाख २८ गते छलफल भएको थियो । अर्थोडक्स चिया भने भारतमा मात्र निर्यात हुने गरेको छ ।
यसैगरी नयाँदिल्लीस्थित नेपाली राजदूतावासबाट भारतका सम्बन्धित मन्त्रालयसँग छलफल भएको जानकारी पनि मन्त्री गौरी कुमारीले दिइन् । नेपालबाट भारत हुँदै अन्य मुलुकमा चिया निर्यातका लागि पनि सहजीकरणको प्रयास भइरहेको छ ।
उपभोग्य वस्तुको अधिकतम खुद्रा मूल्य कायम गराउन भन्सार विभागलाई जिम्मा दिइएको पनि उनले सुनाइन् । उपभोग्य वस्तुका गुणस्तरको अनुगमन भने उपभोक्ता विभागले गर्दै आएको छ ।
सर्वोच्च अदालतको आदेशअनुसार लुम्बिनी क्षेत्रका उद्योग स्थानान्तरण गर्ने विषयमा काम अघि बढेको जानकारी पनि उनले गराइन् । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको पर्खालबाट १५ किलोमिटरसम्मका उद्योग स्थानान्तरण गर्न सर्वोच्चले फैसला गरेको थियो । रासस



प्रतिक्रिया