बकर ईदको शुभकामना व्यक्त गर्दै भीष्मराज आङदेम्बेले के भने ?


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बकर ईद (ईद–उल–अज्हा) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका छन्।

उनले नेपाललाई विविध जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको साझा फूलबारीका रूपमा उल्लेख गर्दै शताब्दीयौँदेखि विभिन्न समुदायबीच आपसी सद्भाव, सहिष्णुता र सहअस्तित्व कायम रहेको बताएका छन् । यही बहुलतामै नेपालको राष्ट्रिय सभ्यता, सामाजिक शक्ति र लोकतान्त्रिक संस्कृतिको सुन्दर स्वरूप प्रतिबिम्बित हुने उनको भनाइ छ।

नेता आङदेम्बेले त्याग, बलिदान, करुणा, मानवता र ईश्वरप्रतिको समर्पणको सन्देश बोकेको बकर ईदले समाजमा प्रेम, भाइचारा, सहकार्य र सामाजिक न्यायको भावना अभिवृद्धि गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

साथै, यस पर्वले पारस्परिक सम्मान, धार्मिक सहिष्णुता र सामाजिक एकतालाई अझ सुदृढ बनाउँदै शान्त, समुन्नत र समावेशी नेपालको निर्माणमा योगदान पुर्‍याउने उल्लेख गरेका छन्।