सरकारलाई मेयर्स फोरमले भन्याे- आइतबार विद्यालय बन्द गर्ने निर्णय फिर्ता लिनु


काठमाडौं । उपत्यका मेयर्स फोरमले सरकारलाई आइतबार विद्यालय बन्द गर्ने निर्णय फिर्ता लिन माग गरेको छ ।

फोरमको ललितपुरस्थित महालक्ष्मी नगकरपालिकामा बसेको बैठकले सरकारले संविधान विपरीत निर्णय गरेको निष्कर्ष निकालेको हो ।

मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानुनी अधिकार कुण्ठित भएको बताए ।

शिक्षा ऐनअनुसार विद्यालय वर्षमा २ सय २० दिन सञ्चालन हुनुपर्ने व्यवस्था छ । तर सरकारले अप्रत्याशित रूपमा आइतबार बिदा दिने निर्णय गर्दा अध्ययन–अध्यापन प्रभावित हुने अवस्था सिर्जना भएको उनले बताए ।

सरकारको निर्णयले विद्यालयहरू १ सय ९० दिन पनि सञ्चालन गर्न कठिन हुने अवस्था देखिएको उनको भनाइ छ । स्थानीय तहले आफ्नो शैक्षिक क्यालेन्डर बनाइसकेको अवस्थामा केन्द्र सरकारले राजपत्रमै सूचना प्रकाशित गरेर निर्णय गर्नु संविधान र शिक्षा ऐनको मर्मविपरीत रहेको उनको भनाइ छ ।