काठमाडौँ । आठ महिनाअघि बाढीले ध्वस्त पारेको बिपी राजमार्ग पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढेको छ ।
पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देल, नेपालका लागि जापानका राजदूत माएदा तोरुलगायतले दुई दिन अघि शिलन्यास गरेको सडक पुर्ननिर्माणको कामले गति लिएको हो । उक्त राजमार्ग पुनर्निर्माणको काम जापानको सहयोगमा चलिरहेको छ ।
गत वर्षको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको ३० किलोमिटर सडकखण्डमा क्षति पुर्याएको थियो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा राजमार्गलाई स्तरोन्नतिसहित पुनर्निर्माण अघि बढाइएको छ । जापानको सहयोगमा पिप्ले–बर्खेखोला खण्डको ३.२ किमी सडक जापान सरकारको २ अर्ब ८० करोड येन अनुदानमा सिमिजु कर्पोरेसनले निर्माण गर्ने सहमति भइसकेको छ भने नेपाल सरकारको लगानीमा अन्य तीनवटा खण्डका लागि सरकारले ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिइसकेको छ ।
यस अन्तर्गत काभ्रेतर्फका तीन खण्ड र सिन्धुलीको एक खण्डमा ठेक्का लागेर धमाधम काम भइरहेको छ । पुनर्निर्माणसँगै अब यो राजमार्ग दुई लेनको हुनेछ । सडकका ५ वटा पुललाई पनि दुई लेनमा परिणत गरिनेछ । बाढीबाट पुनः क्षति नहोस् भन्नका लागि ‘आरसिसी’ पर्खाल, प्लम्प पर्खाल र सडक चौडा गर्ने कामलाई तीव्रता दिइएको छ ।
वि.सं. २०५३ देखि जापानकै सहयोगमा निर्माण सुरु भएको यो राजमार्ग २०७२ मा नेपाललाई हस्तान्तरण गरिएको थियो ।



प्रतिक्रिया