काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुरले गणतन्त्र दिवस, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन्।
गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएर जेल-नेल तथा विभिन्न यातना भोगेर देशका लागि योगदान गर्ने सम्पूर्ण योद्धाप्रति उच्च सम्मान व्यक्त गरेकी छन्।
नेपालको इतिहास सङ्घर्ष, बलिदान र परिवर्तनको इतिहास भएको उल्लेख गर्दै उपसभामुखले नेपाली जनताले लामो समयसम्म निरङ्कुश शासन, अन्याय, अत्याचार र असमानताको सामना गर्दै लोकतन्त्र, स्वतन्त्रता र जनअधिकारका लागि निरन्तर सङ्घर्ष गर्नुपरेको स्मरण गराएकी छन्। अनेक आन्दोलन, त्याग र बलिदानपछि वि. सं. २०६५ साल जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र राष्ट्र घोषणा गरिएको उल्लेख गर्दै उनले त्यो दिन केवल शासन व्यवस्थाको परिवर्तन मात्र नभएर नेपाली जनताको सार्वभौम अधिकार स्थापित भएको ऐतिहासिक दिन रहेको बताएकी छन्।
गणतन्त्र भनेको जनताले आफ्ना प्रतिनिधि आफैं चयन गर्ने र राज्य सञ्चालनमा प्रत्यक्ष सहभागिता जनाउने व्यवस्था भएको स्पष्ट पार्दै उनले यस व्यवस्थाले प्रत्येक नागरिकलाई समान अधिकार, स्वतन्त्रता, न्याय र अवसरको प्रत्याभूति दिलाउने बताएकी छन्। देशका हरेक नागरिकले सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण भएमा मात्र गणतन्त्रको वास्तविक अर्थ पूरा हुने उनको भनाइ छ।
गणतन्त्र प्राप्त गर्नु मात्र ठुलो उपलब्धि नभएर यसको संरक्षण र सुदृढीकरण गर्नु अझ ठुलो जिम्मेवारी भएको उनल बताइन् । विशेष गरी युवा (जेनजी) पुस्ताले देश निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उनले शिक्षा, सिप, प्रविधि र सकारात्मक सोचमार्फत देशलाई समृद्ध बनाउने दायित्व युवाहरूको काँधमा आएको उनको भनाइ छ ।



प्रतिक्रिया