लुम्बिनी प्रदेशमा पनि मनाइयो गणतन्त्र दिवस,निजामती कर्मचारीहरु सम्मानित


बुटवल । आज १९औँ गणतन्त्र दिवस लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा पनि मनाइएको छ । लुम्बिनी प्रदेशको आयोजनामा भएको कार्यक्रममा सरसफाइ, दीप प्रज्वलन र कर्मचारीलाई सम्मान गरिएको छ ।

प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवस मूल समारोहलाई राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश प्रशासनिक परिसरमा सम्बोधन गर्दै लुम्बिनी प्रदेशका चेतनारायण आचार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि गणतन्त्रवादी शक्तिहरू पुनः एकजुट हुनुपर्ने बताए ।

मुख्यमन्त्री आचार्यले लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिमाथि धावा बोल्ने प्रयास भइरहेको भन्दै उपलब्धिको रक्षाका लागि सचेत नागरिक एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । उनले लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न तथा संसदीय मूल्य–मान्यतामाथि प्रहार गर्ने दुस्साहस भइरहेको टिप्पणी गर्दै जनताको आवाजमाथि खेलवाड गर्ने शक्तिहरू सक्रिय रहेको दाबी गरे।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवा पुरस्कार वितरण गरेको छ। उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कारबाट विभिन्न मन्त्रालयका कर्मचारीहरुसम्मानित भएका छन्।