काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता भएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा दुवै पक्षबीच सातबुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।
समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्ने भन्दै दुई दलले पार्टी एकता गरेको जनाएको छ ।
पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार दुवै पार्टीले जनआन्दोलनको मर्म, सामाजिक न्याय, समावेशिता र समानुपातिक प्रतिनिधित्वको मुद्दालाई साझा राजनीतिक एजेण्डाका रूपमा अघि बढाउने भएका छन् । साथै भ्रष्टाचार र कुशासनविरुद्ध संयुक्त रूपमा संघर्ष गर्ने प्रतिबद्धता जनाइएको छ ।





प्रतिक्रिया