धमलाको टोली मैदानमा: मधेशमा सुलोचना, सुकुम्बासी बस्तीमा ‘एक्सन’


काठमाडौँ । स्वतन्त्र नागरिक अभियान नेपालले संगठन विस्तार र समसामयिक सामाजिक मुद्दाहरूलाई केन्द्रित गर्दै आफ्ना गतिविधि तीव्र पार्ने निर्णय गरेको छ।

अभियानका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले संगठनको केन्द्रीय सदस्य सुलोचना न्यौपानेलाई मधेश प्रदेशको इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो। बैठकले अभियानलाई मधेश प्रदेशका सबै जिल्ला र स्थानीय तहसम्म विस्तार गर्ने रणनीति लिएको छ।

नवनियुक्त इन्चार्ज न्यौपानेको नेतृत्वमा अभियानले मधेश प्रदेशमा संगठन विस्तार मात्र नभई त्यहाँका समस्याहरूको समाधानका लागि दबाबमूलक तथा रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ। मधेश प्रदेशमा विद्यमान समयमा मलखाद, बीउबिजन र सिँचाइ अभाव तथा किसानहरूले उत्पादनको उचित मूल्य नपाउने, शिक्षा र नागरिकताको समस्या, दाइजो प्रथा र बोक्सी प्रथा जस्ता सामाजिक कूरीतिहरू लड्ने अभियानको योजना छ ।

यी समस्याहरूको समाधानका लागि अभियानले स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने, ज्ञापनपत्र बुझाउने र नागरिक स्तरबाट निरन्तर खबरदारी गर्ने निर्णय गरेको छ।
यसैबीच, अभियानको सचिवालय बैठकले सुकुम्बासीका होल्डिङ सेन्टरहरूको स्थलगत अवलोकन र अनुगमन गर्ने निर्णय गरेको छ। सुकुम्बासीका होल्डिङ सेन्टरहरूमा न्यूनतम मानवीय पूर्वाधारको पनि चरम अभाव रहेको बैठकले ठहर गरेको छ । त्यहाँ खानेपानी, शौचालय, र स्वास्थ्य उपचारको उचित व्यवस्था नभएको र होल्डिङ सेन्टरहरूमा बस्ने बालबालिका शिक्षाबाट बञ्चित रहेको उल्लेख गरिएको छ ।
स्वतन्त्र नागरिक अभियानले यी समस्या समाधानका लागि सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेको छ।
‘होल्डिङ सेन्टरहरूलाई केवल अस्थायी आश्रयस्थल मात्र बनाउनु हुँदैन, उनीहरूको स्थायी बसोबास र रोजगारीको ग्यारेन्टी सरकारले गर्नुपर्छ,’ बैठकको निर्णयबारे जानकारी दिँदै अध्यक्ष धमलाले भने।

अभियानले अबका दिनमा आफैँ मैदानमा उत्रिएर होल्डिङ सेन्टरहरूको वास्तविक अवस्थाको प्रतिवेदन तयार पार्ने र सो प्रतिवेदन सरकारलाई बुझाएर समस्या समाधानका लागि बाध्य पार्ने रणनीति तय गरेको अभियानका केन्द्रीय सचिव हेमराज अधिकारी ‘कश्यप’ले जानकारी दिए ।