काठमाडौँ। राजावादी नेता रविन्द्र मिश्रले आज १९औँ गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमा एक पाेष्ट गर्दै याे व्यवस्था लामो समय नटिक्ने दाबी गरेका छन्।
जेठ १५ गते शुक्रबार देशमा गणतन्त्र दिवस मनाइरहँदा नेता मिश्रले यसलाई ‘प्रचण्डतन्त्र दिवस’ को रूपमा चित्रण गर्दै नेकपाका संयोजक पुष्प कमल दाहाल(प्रचण्ड)लाई ‘प्रचण्ड युगका नायक’ र ‘प्रचण्डतन्त्रका पिता’ भनेका छन्।
आफ्नो फेसबुक पेजमा एक पोस्ट गर्दै मिश्रले प्रचण्डको राजनीतिक चतुरता र शक्ति सन्तुलन मिलाउने क्षमतालाई “असाधारण” भनेका छन्। उनले प्रचण्डलाई वर्तमान प्रधानमन्त्री बालेन शाहभन्दा पनि असाधारण शक्तिका रूपमा उल्लेख गरे ।
मिश्रले लेखेका छन् , ”तपाईँ आफू फुल्नु भयो, झर्नुभयो; रूनु भयो, रूवाउनु भयो; मार्नु भयो, मराउनु भयो; खुम्चिएर मरिच हुनुभयो, तर तपाईँले देशका सबै शक्तिलाई प्रचण्डवादी बनाइदिनु भयो।”
मिश्रले वर्तमान राजनीतिका अग्रजदेखि नयाँ पुस्ताका सबै नेताहरू अन्ततः प्रचण्डकै राजनीतिक एजेन्डा र पदचापमा हिँड्न बाध्य भएको आराेप लगााएका छन्। उनले नेपाली राजनीतिका शीर्ष व्यक्तित्वहरूको नामै किटेर कटाक्ष समेत गरेका छन् । उनले युवा नेतृत्वहरु प्रधानमन्त्री बालेन शाह,रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा देखि पुराना नेताहरु स्वर्गीय गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र देशका वरिष्ठ पत्रकार तथा नागरिक समाजका अगुवाहरू ‘प्रचण्डवादी’ बनिसकेका उल्लेख गरेका छन्। “ती तपाईँलाई श्रेय दिन चाहाँदैनन्, किनभने तिनको मुटु सानो छ र आफैँ श्रेय लिन चाहन्छन्। तर तिनले जति बल गरे पनि तथ्य के हो भने ती सबैको अनुहारमा प्रचण्डको लेप लागेको छ,” मिश्रले लेखेका छन्।
राजतन्त्रको वकालत गर्दै आइरहेका मिश्रले आफू जस्ता भिन्न मत राख्नेहरूसँग आक्रोशित नहुन समेत प्रचण्डलाई आग्रह गरेका छन्। गणतन्त्रप्रति आफ्नो असहमति व्यक्त गर्दै उनले यो व्यवस्था लामो समय नटिक्ने जिकिर गरे। मिश्रले थपेका छन्, “प्रचण्डतन्त्र दिवस — इतिहास रहोस्, अमर नरहोस् भन्छु, माइण्ड नगर्नोस् है।”



प्रतिक्रिया