इरान–अमेरिका युद्धविराम विस्तार


वासिङ्टन, १५ जेठ । तीन महिनादेखि जारी युद्धलाई ६० दिनका लागि युद्धविराम विस्तार गर्ने तथा इरानको आणविक कार्यक्रमसम्बन्धी नयाँ चरणको वार्ता सुरु गर्ने विषयमा अमेरिका र इरानका वार्ताकारहरूबीच अस्थायी सम्झौता भएको छ ।

तर इरानले भने अहिलेसम्म उक्त सम्झौताको औपचारिक पुष्टि गरेको छैन । अमेरिकी पक्षबाट उपराष्ट्रपति जेडी भान्सले सम्झौता भएको जानकारी दिएका छन् । यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई अनुमोदन गर्ने वा नगर्ने विषय अझै स्पष्ट नभएको बताइएको छ । उनका अनुसार केही प्राविधिक तथा भाषागत बुँदाहरूमा छलफल जारी छ र अन्तिम सहमति अझै टुङ्गिएको छैन ।

सम्झौतासँगै हर्मुज जलघाँटीसम्बन्धी प्रावधानहरू पनि अगाडि सारिएको जनाइएको छ । प्रस्तावअनुसार इरानले उक्त सामरिक जलमार्गमा टोल लगाउने अधिकार प्रयोग गर्न नपाउने तथा ३० दिनभित्र त्यहाँ राखिएका सबै खानी हटाउनुपर्ने व्यवस्था समेटिएको छ । ती अधिकारीले सार्वजनिक रूपमा बोल्न अधिकार नभएकाले नाम नखुलाउने सर्तमा जानकारी दिएका हुन् । युद्धका क्रममा इरानले यो जलमार्ग प्रभावकारी रूपमा बन्द गरेपछि विश्व व्यापारमा प्रयोग हुने तेल र ग्यासको करिब पाँचौँ भाग प्रभावित भएको बताइएको छ ।

यसैबीच, अमेरिकाले इरानी बन्दरगाहहरूमा गरिएको नौसैनिक दबाब क्रमशः हटाउने र प्रतिबन्धहरू खुकुलो पार्दै इरानलाई थप तेल बिक्री गर्न अनुमति दिने तयारी गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सम्झौता अन्तिम भएपछि तेलको मूल्य छिट्टै घट्न सक्ने अनुमान व्यक्त गरेका छन् । यद्यपि, अमेरिकाले इरानी तेल बिक्रीसँग सम्बन्धित थप प्रतिबन्धहरू पनि लगाएको छ, जसले आर्थिक दबाब अभियान अझ विस्तार गरेको देखिएको छ ।

इरानले केही व्यावसायिक जहाजहरूलाई आवतजावत गर्न दिएको दाबी गरे पनि यस महिनामा औसत दैनिक जहाज आवागमन युद्धपूर्वको तुलनामा निकै घटेको छ । यसबीच इस्लामिक गणतन्त्रले केही जहाजबाट टोल पनि असुल गरेको आरोप छ र यसै सन्दर्भमा नयाँ औपचारिक नियन्त्रण निकाय स्थापना गरिएको उल्लेख गरिएको छ ।

सम्झौताको मुख्य संवेदनशील विषय इरानको अत्यधिक संवर्धित युरेनियम भण्डारण रहेको बताइएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार इरानसँग ४४०।९ किलोग्राम युरेनियम छ, जुन ६० प्रतिशतसम्म संवर्धित छ र यो हतियार–स्तर ९० प्रतिशतभन्दा केही तल मात्र रहेको प्राविधिक सीमा हो । वार्ताकारहरूले उक्त भण्डारणको भविष्यबारे प्रारम्भिक सहमति खोज्ने प्रयास गरिरहेको जनाइएको छ, जसको विस्तृत रूप आगामी वार्तामा तय हुने अपेक्षा गरिएको छ ।

उपराष्ट्रपति भान्सले आणविक सामग्री, संवर्धित भण्डार र संवर्धन प्रक्रियासम्बन्धी विषय अझै छलफलमै रहेको बताउँदै लामो समयसम्म असर पार्ने किसिमको समाधान खोज्ने प्रयास भइरहेको उल्लेख गरे । तर इरानले भने आफ्ना युरेनियम भण्डार पूर्ण रूपमा त्याग्ने प्रतिबद्धता अझै सार्वजनिक रूपमा जनाएको छैन । केही विश्लेषकहरूले उक्त भण्डारलाई चीन वा रूसजस्ता तेस्रो पक्षलाई जिम्मा दिने विकल्पबारे छलफल हुन सक्ने सङ्केत गरेका छन् । यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पले यस्तो योजनामा सहज नहुने स्पष्ट पारेका छन् ।

यता इरानले वार्तामा लेबनानमा इजरायली सैन्य कारबाही रोक्ने विषय पनि समावेश हुनुपर्ने अडान दोहोर्‍याएको छ । यसैबीच लेबनानको राजधानी बेरुत आसपास र दक्षिणी क्षेत्रमा भएको आक्रमणपछि तनाव अझ बढेको छ, जसमा कम्तीमा १४ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।

क्षेत्रीय सुरक्षाको अवस्था थप जटिल बन्दै जाँदा कुवेतले आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत इरानबाट प्रक्षेपित मिसाइल र ड्रोनहरू रोकिएको जनाएको छ । कुवेतको विदेश मन्त्रालयले यसलाई स्पष्ट आक्रमण भन्दै निन्दा गरेको छ भने अमेरिकी सेन्ट्रल कमान्डले यसलाई गम्भीर युद्धविराम उल्लङ्घनको रूपमा व्याख्या गरेको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार हालैका दिनहरूमा इरानमाथि थप कारबाही गरिएको छ । यसमा ड्रोनहरू खसाल्ने र केही सैन्य संरचनामा आक्रमण गर्ने कार्य पनि समावेश छ । इरानले भने आफ्ना रिभोलुसनरी गार्डमार्फत प्रतिकारात्मक आक्रमण गरेको जनाएको छ । यद्यपि त्यसको विस्तृत लक्ष्यबारे स्पष्ट जानकारी दिएको छैन ।

अस्थायी सम्झौताको विवरण पहिले समाचार संस्था एक्सियोसले सार्वजनिक गरेको थियो । यद्यपि दुवै पक्षले आंशिक सहमति र आंशिक असहमतिको अवस्थामा वार्ता जारी राखिरहेका छन् । अमेरिकी उपराष्ट्रपति भान्सका अनुसार युद्धविराम पूर्ण रूपमा स्थिर नभए पनि हालसम्म ‘धेरै हदसम्म टिकिरहेको’ छ र वार्ता निरन्तर अगाडि बढिरहेको छ ।

पछि बिहीबार इरानको प्रतिरक्षा प्रणालीले दक्षिणी सहर जाम नजिकै एक ‘शत्रुतापूर्ण विमान’ नष्ट गरेको दाबी गरिएको छ । स्थानीय अधिकारीहरूका अनुसार घटनाबारे थप विवरण तत्काल उपलब्ध नभए पनि क्षेत्रीय तनाव अझै उच्च अवस्थामा रहेको छ । रासस