टुँडीखेलमा गणतन्त्र दिवस : पूर्वप्रधानमन्त्रीहरुको उपस्थिति शून्य,’सरकार भन्छ-निम्तो पठायौँ,सचिवालय भन्छ-छैन’


काठमाडौं । आज ज्येष्ठ १५ । गणतन्त्र दिवस । सरकारले भव्य समारोहकाबीच सैनिकमञ्च टुँडीखेलमा ‘गणतन्त्र दिवस २०८३’ मनाइएको छ । २०६५ सालदेखि हरेक वर्ष जेठ १५ मा सरकारले गणतन्त्र दिवस मनाउँदै आइरहेको छ ।

समारोह आयोजनाका लागि प्रधानमन्त्रीकै अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन हुन्छ र गृह मन्त्रालयसँगको समन्वयमा प्रधानमन्त्री कार्यालयले कार्यक्रमको व्यवस्थापन गर्ने गरेको छ । हाल गृहमन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री बालेन शाहले नै सम्हालेका छन् । गणतन्त्र दिवसको समारोहमा पुर्वप्रधानमन्त्रीहरुलाई अनिवार्य निमन्त्रणा गर्ने प्रचलन छ ।

समारोहमा पुर्वप्रधानमन्त्रीदेखि अन्य सबै पाहुनालाई निम्तो गृह मन्त्रालयले गर्दै आएको छ । तर, शुक्रबार(ज्येष्ठ १५ २०८३) मा कुनै पनि पूर्वप्रधानमन्त्रीको उपस्थिति देखिएन । हरेक वर्ष उपस्थित हुने गरेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसमेत यस वर्ष उपस्थित नभएपछि अहिले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणीहरु सूरु भएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेशमा छन् । नेपालमै रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली,पुष्पकमल दाहाल(प्रचण्ड),माधव नेपाल र झलनाथ खनालको पनि समारोहमा उपस्थिति देखिएन।

यस विष्यमा बुझ्दा गृह मन्त्रालयका उपसचिव सन्तोष पौडेलले हरेक वर्षजस्तै सबै पूर्वप्रधानमन्त्रीहरुलाई निमन्त्रण गरिएको बताए । प्रचण्ड ज्वरो आएको कारण निवासमै आराम गरिरहेको बताइए पनि औपचारिक रुपमा कुनै निम्तो नआएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रचण्डलाई ‘पूर्वप्रधानमन्त्री’ को हैसियतमा नभएर सांसदको हैसियतमा निम्ता गएको हो । त्यस्तै पूर्वप्रधानमन्त्री ओलीको सचिवालय प्रमुख निरुदेवी पालले पनि सरकारबाट औपचारिक निम्तो नआएको जानकारी दिएको छ ।

 आजकाे कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए । प्रधानमन्त्री बालेन्द्र शाहले भने उपस्थिति मात्रै जनाए सम्बाेधन गरेनन् ।