लाहोर (पाकिस्तान), १५ जेठ। पाकिस्तानको नेसनल साइबर क्राइम इन्भेस्टिगेसन एजेन्सी (एनसिसिआईए) ले पञ्जाबका विभिन्न सहरहरूबाट ११ जना सामाजिक सञ्जाल प्रगोग कर्तालाई राज्य विरोधी प्रचार गरेको र शान्ति भड्काएको आरोपमा पक्राउ गरेको अधिकारीहरूलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले रिपोर्ट गरेको छ ।
एनसिसिआईए पञ्जाबका प्रवक्ताले ती व्यक्तिहरू केही समय देखि निगरानीमा रहेको र राज्य विरुद्ध सामग्रीहरु प्रसारित गर्न विभिन्न सामाजिक सञ्जाल मार्फत राज्यका विभिन्न संस्थाहरू तथा सेना विरुद्ध अनलाइन अभियान चलाउनमा संलग्न रहेको जनाएको छ ।
प्रवक्ताले बिहीबार छापा मारेर लाहोरबाट दुई जना, फैसलाबादबाट तीन जना, मुल्तानबाट चार जना र गुजरानवालाबाट एक जनालाई पक्राउ गरेको बताउनु भएको छ । अभियुक्तहरूलाई इलेक्ट्रोनिक अपराध रोकथाम ऐन (पेटा) २०१६ का विभिन्न प्रावधानहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ, डनले रिपोर्ट गरेको छ ।
डिजिटल उपकरणहरू र सामाजिक मिडिया रेकर्डहरू अनलाइन नेटवर्कहरू र पक्राउ परेका व्यक्तिहरूसँग सम्बन्धित गतिविधिहरू पत्ता लगाउन जाँच भइरहेको अधिकारीहरूले बताएका छन् । एनसिसिआइए पञ्जाबका निर्देशक मुहम्मद अली वसीमले राज्य विरोधी प्रचार र आतङ्क र अस्थिरता सिर्जना गर्ने प्रयासरत व्यक्तिहरू प्रति कुनै पुर्वाग्रह नराखी त्यस्ता तत्वहरू विरुद्ध कारबाही जारी राख्ने बताउनुभएको छ ।
चालु महिनाको सुरुमा पन्जाबमा यसै गरी १३ जना “राज्य विरोधी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई गिरफ्तार गरी कारबाही गरेको अधिकारीहरूले बताएका छन् । रासस



प्रतिक्रिया