लेबनानमा पछिल्लो सात दिनमा १५ बालबालिकाको मृत्यु भएको राष्ट्रसङ्घको दाबी


जेनेभा, १५ जेठ । इजरायल र हेजबुल्लाहबीच युद्धविराम भए पनि लेबनानमा विगत सात दिनमा १५ बालबालिकाको मृत्यु भएका र ६२ जना घाइते भएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालबालिकामामिला हेर्ने निकाय (युनिसेफ)ले यो तथ्याङ्क आश्चर्यजनक रहेको भन्दै अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार द्वन्द्वमा बालबालिकाको संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।

युनिसेफका प्रवक्ता रिकार्डो पिरेसले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा लेबनानको जनस्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी पछिल्लो एक हप्तामा ७७ जना बालबालिकाको मृत्यु भएको वा घाइते भएको जानकारी दिइएको छ ।

रिपोर्टमा भनिएको छ, “सात दिनमा पन्ध्र बच्चाहरू मारिए र ६२ घाइते भए। यो भनेको हरेक २४ घण्टामा औसत ११ जना बालबालिका द्वन्द्वबाट प्रभावित भएका छन् ।”

रिपोर्टमा अगाडि भनिएको छ, “यी बच्चाहरूमध्ये अधिकांश दक्षिण लेबनानमा हवाई आक्रमणबाट प्रभावित भएका थिए । हिजो मात्रै सात बालबालिकाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए ।”

इजरायल र इरान समर्थित लेबनानी समूह हेजबुल्लाहबीच युद्धविराम अप्रिल १७ देखि लागू हुने भनिएको थियो तर कहिल्यै अवलोकन गरिएको छैन। दुवै पक्षले एक अर्कालाई यसको उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

युद्धविरामको घोषणा भएदेखि अहिलेसम्म ५५ जना बालबालिकाको मृत्यु भएको छ भने २१२ जना घाइते भएका पिरेसले भने ।

पिरेसले सबै पक्षहरूलाई युद्धविरामलाई पूर्ण रूपमा सम्मान गर्न र अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्न आह्वान गरे । यसअन्तर्गत ‘बालबालिका र नागरिक पूर्वाधारहरू जहिले पनि सुरक्षित हुनुपर्छ ।”

अमेरिका–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको हत्यालाई लिएर लेबनानी स्थानीय सशस्त्र समूह हेजबुल्लाहद्वारा इजरायलमाथि रकेट प्रहार गरेपछि इजरायलले लेबनानमा इजरायल र हेजबुल्लाहबीच भएको युद्धविरामका बीच पनि हालैका दिनहरूमा इजरायलले दक्षिणी तटीय शहर टायरको ठूलो क्षेत्रलाई बारम्बार खाली गर्न चेतावनी जारी गरेको छ र भारी आक्रमण गरेको छ । रासस