काठमाडौं । अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधिको विकासमा संयुक्त राज्य अमेरिकाले सधैँ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
काठमाडौंमा आयोजित ‘एसेन्ट समिट’ लाई सम्बोधन गर्दै उनले दुई देशबीचको ७९ वर्ष लामो कूटनीतिक सम्बन्ध र पर्वतारोहणको विषय ऐतिहासिक कडी भएको बताएकी हुन् ।
उपविदेशमन्त्री रोजर्सले अमेरिकाले आफ्नो स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव मनाइरहेको सन्दर्भ उल्लेख गर्दै अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतुहलता रहेको बताइन् ।
सन् १९६३ मा जिम ह्विटाकरले शेर्पा नवाङ गोम्बूसँग मिलेर सगरमाथाको सफल आरोहण गरी प्रथम अमेरिकी आरोही बनेको ऐतिहासिक क्षणलाई स्मरण गर्दै उनले यसले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको बताइन् ।
उनकाअनुसार यस वर्ष मात्र ६७ जना अमेरिकीले सगरमाथा आरोहणको प्रयास गरेका छन् ।



प्रतिक्रिया