काठमाडौँ । एनआईसी एसिया बैंकसँगको ऋण कारोबार, धितो लिलाम तथा ब्याज गणनामा अनियमितता भएको आरोप लगाउँदै ऋणी शत्रुधन महतोले निष्पक्ष छानबिनको माग गरेका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सर्लाहीको गोडैता नगरपालिका-२ का महतोले बैंकले गरेको लिलामी र ब्याज समायोजन प्रक्रिया कानुनसम्मत नभएको भन्दै ध्यानाकर्षण गराएका हुन्।
एनआईसी एसिया बैंकको सर्लाहीस्थित लालबन्दी शाखाले धितो लिलाम गर्दा प्राप्त रकममध्ये ठूलो हिस्सा गैरकानुनी रूपमा ब्याजतर्फ कट्टी गरेको उनको आरोप छ।
‘धितो लिलामबाट करिब १ करोड ४८ लाख रुपैयाँ प्राप्त भएकोमा बैंकले करिब ९० लाख रुपैयाँ ब्याजतर्फ मात्र कट्टी गरेको देखिन्छ,’ महतो भन्छन्, ‘उक्त रकमको समायोजन प्रचलित कानुन, नेपाल राष्ट्र बैंकको निर्देशन र ऋण सम्झौताअनुरूप भए-नभएको निष्पक्ष रूपमा परीक्षण हुनुपर्छ।’
महतोले कर्जा प्रवाह गर्दा तय गरिएको ब्याजदर तथा प्रिमियममा गरिएको हेरफेर, धितोको मूल्याङ्कन, लिलाम प्रक्रिया र थप कर्जा कारोबारसम्बन्धी विवरणमा स्पष्टता नरहेको दाबी गरेका छन्। बैंकका कागजात र स्टेटमेन्टको सूक्ष्म अध्ययन गरी राष्ट्र बैंक तथा सम्बन्धित निकायले सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनको माग छ।
ऋणी महतोले राष्ट्र बैंक र सरकारी निकायसमक्ष निम्न ६ बुँदे माग अघि सारेका छन्:
- धितो लिलामबाट प्राप्त सम्पूर्ण रकम र त्यसको समायोजन विवरणको निष्पक्ष छानबिन गरियोस्।
- साँवा, ब्याज, प्रिमियम तथा अन्य शुल्कको हिसाब राष्ट्र बैंकको निर्देशन र प्रचलित कानुनअनुसार परीक्षण गरियोस्।
- कर्जा प्रवाहदेखि हालसम्मको सम्पूर्ण कारोबार विवरण, ब्याज गणना तथा लिलामसम्बन्धी कागजात उपलब्ध गराइयोस्।
- कर्जा असुली तथा कालोसूचीसम्बन्धी कारबाही कानुनसम्मत भए-नभएको छानबिन गरियोस्।
- छानबिनबाट कुनै त्रुटि वा अनियमितता पुष्टि भएमा कानुनअनुसार सुधार, रकम समायोजन र आवश्यक कारबाही गरियोस्।
- सम्बन्धित सरकारी निकाय तथा नेपाल राष्ट्र बैंकले समयमै निष्पक्ष निर्णय गरी पीडित पक्षलाई न्याय दिलाओस्।
आफू बैंकिङ प्रणालीप्रति अविश्वास फैलाउन नभई आफ्नो कारोबारमा पारदर्शिता, कानुनी प्रक्रिया र न्यायको पक्षमा उभिएको महतोले स्पष्ट पारेका छन्।
आफ्ना सबै दाबीहरू प्रमाण र कागजातमा आधारित रहेको उल्लेख गर्दै उनले छानबिन गरी न्याय दिलाउन सरोकारवाला निकायसँग अपिल गरेका छन्।





प्रतिक्रिया