तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन हुने


तुलसीपुर (दाङ), १९ जेठ । तुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने भएको छ । उपमहानगरपालिकाले वडा नम्बर १५ को दक्षिण कुररियामा थारू भाषाको विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गरिएको हो ।

दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला रहेको भन्दै थारू भाषामा पठनपाठनका लागि विद्यालय सञ्चालनको अनुमति प्रदान गरिएको नगरप्रमुख टीकाराम खड्काले बताए ।

गुठीका रूपमा सञ्चालन गर्न दिनेगरी अनुमति प्रदान गरिएको नगर प्रमुखको भनाय छ । स्थानीय रोहित चौधरीले तीन वर्षअघि थारू भाषाको विद्यालय सञ्चालनको अनुमतिका लागि उपमहानगरपालिकामा माग गरेका थिए ।

सोही निवेदनमाथि उपमहानगरपालिकाको ४७औँ कार्यपालिका बैठकले निर्णय गरेको हो । अहिलेसम्म जिल्लामा थारू समुदायका लागि गुठीअन्तर्गत छुट्टै विद्यालय सञ्चालनमा छैन । उक्त विद्यालयलाई थारू भाषाबाट पढाउनका लागि उपमहानगरपालिकाले स्वयंसेवक शिक्षक पनि उपलब्ध गराउने नगरप्रमुख खड्काले बताए। सबै थारू समुदायका विद्यार्थी त्यही पढ्न गएमा आवासीयसमेत बनाउन सकिने उनको भनाइ छ । उपमहानगरपालिकाले देशमै यो नयाँ अभ्यास थालेको नगरप्रमुख खड्काले बताए ।

राष्ट्रिय जनगणना २०७८ अनुसार दाङको तुलसीपुरमा २१ प्रतिशत थारू समुदायको बसोबास छ । जहाँ ३८ हजार ३२५ जनसङ्ख्या रहेको छ । तुलसीपुरमा सबैभन्दा बढी क्षेत्रीको ३५.३ प्रतिशत र त्यसपछि थारू समुदायको जनसङ्ख्या छ । यसअघि वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा मगर भाषाको कक्षा सञ्चालनमा थियो । भाषागत कक्षालाई स्थानीय पाठ्यक्रममा समावेश गरेर पनि पढाउन सकिने उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताए । रासस