दिल्लीमा रविः भाजपा–रास्वपा संवादले ल्याएको नयाँ आशाको तरंग


काठमाडौँ । नेपालको राष्ट्रिय राजनीतिमा परम्परागत शक्तिहरूलाई चुनौती दिँदै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अहिले भइरहेको भारत भ्रमण केवल एउटा राजनीतिक यात्रा मात्र होइन, यो बदलिँदो भू–राजनीतिक संरचना र पार्टी–टु–पार्टी डिप्लोमेसीको नयाँ प्रस्थानविन्दु हो।

नेपालमा नयाँ शक्तिको उदय भइरहँदा भारतको सत्तारूढ दल भारतीय जनता पार्टीले लामिछानेलाई उच्च महत्त्व दिएको छ । सीमा संवेदनशीलता र विगतका कूटनीतिक चिसोपनका बीच भएको यो भ्रमणलाई नेपाल–भारत सम्बन्ध र क्षेत्रीय कूटनीतिमा एउटा महत्वपूर्ण सकारात्मक अध्यायका रूपमा हेरिएको छ।
विगतमा नेपालका कम्युनिस्ट वा कांग्रेसका परम्परागत नेताहरूसँग मात्र ‘डिल’ गर्दै आएको संस्थापन भारतले यसपटक रास्वपा जस्तो नयाँ र पपुलिष्ट शक्तिसँग प्रत्यक्ष संवाद अघि बढाएको छ। आपसी विश्वास र नीतिगत सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउन भाजपाले पार्टी–टु–पार्टी संवादलाई तीव्रता दिएको हो।
सभापति लामिछानेले मंगलबारबाट आफ्नो उच्चस्तरीय राजनीतिक भेटघाट सुरु गरेका छन्। उनी भाजपाको केन्द्रीय कार्यालय पुग्दा त्यहाँ आकर्षक परम्परागत झाँकी र फूलमालाले भव्य स्वागत गरियो, जसले रास्वपाप्रति नयाँ दिल्लीको सकारात्मक दृष्टिकोण बुझाउँछ।
भाजपाका राष्ट्रिय अध्यक्ष नीतिन नविनसँगको भेटवार्ताका क्रममा रविसहितको नेपाली प्रतिनिधिमण्डललाई भाजपाको संगठनात्मक संरचना र कार्यशैलीबारे ब्रिफिङ गरिएको थियो। भाजपाको प्रसिद्ध KNOW BJP (भाजपालाई जान्नुहोस्) पहल अन्तर्गत भएको यो संवाद दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित रहेको रास्वपाले जनाएको छ।
भ्रमणकै क्रममा सभापति लामिछानेले भारतको प्रतिष्ठित अखबार ‘हिन्दुस्तान टाइम्स’मा लेख लेख्दै आफ्नो र पार्टीको कूटनीतिक मार्गचित्र प्रष्ट पारेका छन्। उनले नेपालका परम्परागत राजनीतिज्ञहरूले घरेलु चुनाव जित्न प्रयोग गर्ने अति–राष्ट्रवादी भाषाको कडा आलोचना गरेका छन्।
‘परम्परागत राजनीतिज्ञहरूले प्रयोग गर्ने अतिराष्ट्रवादी भाषालाई हामी मन पराउँदैनौँ। हामीले दिने विकल्प भनेको प्रमाणमा आधारित संवाद र चुनावी स्वार्थबाट मुक्त व्यावहारिक दृष्टिकोण हो,’ लामिछानेले लेखेका छन्। उनले रास्वपासँग नेपालको विदेश नीति परिवर्तन गर्ने जनमत र शक्ति रहेको दाबी गर्दै थपेका छन्, ‘हामीले अतीतको बोझ बोकेका छैनौँ। हामी पुराना दुश्मनी वा कटुताले बाँधिएका छैनौँ।’
लामिछानेले नेपाल–भारत कूटनीतिलाई भू–राजनीतिक तनावको बन्धक बनाउनुको साटो विकासकेन्द्रित बनाउनुपर्ने वकालत गर्दै केही प्रस्ताव अघि सारेका छन्–
रेलमार्ग र कनेक्टिभिटी
भारतको दैनिक १५ किमी रेलमार्ग विस्तारको गतिलाई नेपालसँग जोड्ने। प्रस्तावित रक्सौल–काठमाडौँ १५० किलोमिटर रेलमार्ग लाई छिटो सम्पन्न गरी व्यापार र पर्यटनमा फड्को मार्ने।
सिधा हवाई उडान
नेपालका नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेंगलुरु जस्ता भारतका प्रमुख शहरहरूमा सिधा उडान सुचारु गर्ने।
डिजिटल र आइटी करिडोर
भारतको आन्ध्र प्रदेश र तेलंगनाको प्रविधि विकासबाट सिक्दै काठमाडौँ–बेंगलुरु डिजिटल करिडोरको स्थापना गर्ने र डिजिटल भुक्तानीमा सहकार्य गर्ने।
ऊर्जा र उद्योग
नेपालको स्वच्छ जलविद्युतले भारतको उदीयमान औद्योगिक क्षेत्रलाई ऊर्जा दिने र एकीकृत ऊर्जा बजार बनाउने। सीमा क्षेत्रमा रासायनिक मल कारखाना स्थापना गर्ने।
सीमा सहजीकरण
सीमा आवतजावतमा हुने सरकारी झन्झट अन्त्य गर्न डिजिटल एकीकृत जाँच चौकी र उन्नत यातायात मार्ग बनाउने।
पर्यटन मार्ग
प्रशासनिक झन्झटमुक्त साझा सांस्कृतिक पर्यटन मार्ग बनाउने।

रोटी–बेटीको जनस्तरको सम्बन्ध, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा बहुआयामिक रहेको नेपाल–भारत सम्बन्धमा रास्वपाको यो दृष्टिकोणलाई कूटनीतिक वृत्तले व्यावहारिक र परिणाममुखी भनेको छ। आइआइटी र एम्स जस्ता प्रतिष्ठित भारतीय संस्थाहरू नेपालमा भित्र्याउने र युवा पुस्तालाई प्रविधिसँग जोड्ने रविको चाहना प्रशंसनीय छ। त्यस्तै सीमा विवाद, ईपीजी प्रतिवेदन जस्ता थाँती रहेका विषयलाई प्रमाणमा आधारित संवादमार्फत सुल्झाउँदै आपसी विश्वास बलियो बनाउन सके रास्वपा र भाजपाबीचको सामिप्यताले दुवै देशको हितमा नयाँ इतिहास रच्नेछ।