पेरिस, १९ जेठ । नोट्रे डेम क्याथेड्रल पुनः खुलिसकेपछि हजारौँ पर्यटकहरू यसको टावर, गार्गोयल र वास्तुकलाको आकर्षण हेर्न लामबद्ध छन् । तर उनीहरू उभिएको जमिनको केही मिटर तल भने पुरातत्त्वविद्हरूले अर्को संसार उजागर गरिरहेका छन्—रोमनकालीन पेरिसदेखि मध्ययुगीन बस्ती हुँदै करिब एक हजार ७०० वर्षभन्दा बढी समयको तहगत इतिहास । फ्रान्सेली सञ्चारमाध्यमले यसलाई ‘शताब्दीको ऐतिहासिक उत्खनन’ भनेर वर्णन गरेका छन् ।
सन् २०१९ को भीषण आगलागीले नोट्रे डेमको शिखर भत्काएपछि विश्वभर चासो पैदा भएको थियो । लामो पुनर्निर्माणपछि क्याथेड्रल सन् २०२४ को अन्त्यमा पुनः खुल्यो । अहिले पेरिस प्रशासनले यसको अगाडिको विशाल खुला क्षेत्रमा रूख, छायाँ र हरियाली थप्दै नयाँ सार्वजनिक चौक बनाउने योजना अघि बढाइरहेको छ । तर यति पुरानो सहरमा जमिन खन्नुअघि त्यसको मुनिको इतिहास पढ्नैपर्ने हुन्छ । यही कारण नोट्रे डेमको अगाडिको भाग अहिले घेराबार गरिएको सक्रिय उत्खननस्थल बनेको छ ।
पर्यटकहरूको लाइनभन्दा केही कदम पर, काठका अस्थायी बाटोले काटिएको खुला खाडलभित्र पुरातत्त्वविद्हरूले जमिनमुनि गाडिएको पेरिसको इतिहास उत्खनन गरिरहेका छन् । पहिलो ऐतिहासिक सङ्केत सतहबाट करिब ५० सेन्टिमिटर तल देखिन्छ भने चार मिटरभन्दा बढी गहिराइमा पुग्दा टोली अझै पुराना सभ्यताका अवशेष निकालिरहेको छ । कतिपय दिन उनीहरूले दशकौँदेखि नछोइएको जमिनबाट १५ वटा टोकरीभरि सामग्री निकाल्ने गरेका छन् ।
पेरिस पुरातत्त्व एकाइकी संरक्षक लुसी एल्टेनबर्गले यस्तो अवसर अत्यन्त दुर्लभ भएको बताए । “हाम्रा लागि पेरिसको इतिहासलाई नयाँ रूपमा बुझाउने काममा प्रत्यक्ष संलग्न हुन पाउनु असाधारण अवसर हो”, उनले भने ।
उत्खननबाट सयौँ वस्तुहरू फेला परिसकेका छन् । तीमध्ये चौथो शताब्दीको एउटा सिक्कामा रोमन सम्राट कन्स्टान्टाइनको अनुहारको छाप भेटिएको छ । मध्ययुगीन सिरेमिक भाँडाका टुक्राभित्र भेटिएका हल्का रातो अक्षर र रहस्यमय चिह्नहरूले पनि अनुसन्धानकर्तालाई चकित बनाएका छन् । विशेषज्ञहरूका अनुसार ती चिह्नहरूको अर्थ अझै खुल्न बाँकी छ, जसले यो उत्खननलाई आधुनिक रहस्यकथाजस्तै रोचक बनाएको छ ।
म्यानचेस्टरबाट आएका दुई बालबालिकाका साथ लाइनमा उभिएकी ३४ वर्षीया पर्यटक एमिली कार्टरले क्याथेड्रलको अनुभव अब झन् फरक बनेको बताए । “तपाईँ क्याथेड्रल हेर्न आउनुहुन्छ, तर अचानक तपाईँको खुट्टामुनि अर्को सहर दबिएको छ भन्ने महसुस गर्नुहुन्छ”, उनले भने ।
पुरातत्त्वविद्हरूका अनुसार प्राचीन सहरहरूमा विकास र इतिहासबीच यस्तै सम्झौता भइरहन्छ । विगत सङ्ग्रहालयभित्र सीमित हुँदैन, बरु सडककै तल गाडिएको हुन्छ । नयाँ पुस्ताले पुरानो संरचनामाथि निर्माण गर्दै जाँदा जमिनको सतह क्रमशः माथि उठ्दै जान्छ । रोममा रोमन साम्राज्य पतन भएयता जमिनको तह करिब नौ मिटर उक्लिएको उदाहरण दिइन्छ । एथेन्सले सन् २००४ को ओलम्पिकअघि मेट्रो बनाउँदा इतिहासकै ठूलो उत्खननमध्ये एक सम्पन्न गरेको थियो । पेरिसमा अहिले भइरहेको काम पनि त्यही परम्पराको निरन्तरता हो ।
यो सम्पूर्ण कथा सेन नदीको टापु ‘इले डे ला साइट’सँग जोडिएको छ, जहाँबाट पेरिसको आरम्भ भएको मानिन्छ । शताब्दीऔँपछि यही स्थानमा नोट्रे डेम उभिएको थियो । उत्खनन टोलीकी प्रमुख पुरातत्त्वविद् क्यामिली कोलोनाका अनुसार सन् ११६३ मा क्याथेड्रल निर्माण सुरु हुँदा अहिलेको खुला चौक क्षेत्रमा घना मध्ययुगीन घरहरू थिए र तिनलाई एउटा मात्र सडकले छुट्याएको थियो ।
टोली अहिले ती पुराना घरहरूको तहखानासम्म पुगिसकेको छ । त्यसको अझ तल छैटौँदेखि दशौँ शताब्दीसम्मका मेरोभिन्जियन र क्यारोलिङ्गियन कालका अन्न भण्डारण खाडलहरू भेटिएका छन् । अझ गहिरो तहमा चौथो र पाँचौँ शताब्दीका रोमन संरचनाका अवशेष देखा परेका छन् । करिब चार मिटरको माटोभित्र २० शताब्दीको इतिहास तहगत रूपमा थुप्रिएको छ ।
बाइस वर्षीया पुरातत्त्व विद्यार्थी यास्मिन बेनालीले उत्खननस्थल हेर्दै पेरिसलाई अब पोस्टकार्डजस्तो स्थिर सहर नभई अझै पत्ता लगाइँदै गरेको जीवित इतिहासजस्तो लाग्न थालेको बताए ।
सबैभन्दा उल्लेखनीय सामग्री मध्ययुगीन घरमुनिका पुराना फोहोर खाडल र शौचालयबाट भेटिएका छन् । त्यहाँबाट जनावरका हड्डी, भाँचिएका प्लेट, पूरै संरक्षित जग र कपहरू निकालिएका छन् । युनिटकी पुरातत्त्वविद् भ्यालेन्टाइन ब्रेलोक्सका अनुसार शताब्दीयौँपछि पनि पूर्ण अवस्थाका सिरेमिक सामग्री भेटिनु असाधारण घटना हो । नरम फोहोरले ती वस्तुहरूलाई सुरक्षित राखेको उनले बताए ।
केही वस्तुहरूले अनुसन्धानकर्तालाई अझ बढी अचम्मित पारेका छन् । सामान्य मध्ययुगीन भाँडाजस्तो देखिने सामग्री सफा गर्दा भित्री भागमा समान प्रकारका रहस्यमय रातो अक्षर र चिह्नहरू फेला परेका छन् । ब्रेलोक्सका अनुसार नोट्रे डेम उत्खननबाट फेला परेका सामग्रीमध्ये यी सबैभन्दा आश्चर्यजनक हुन् ।
सिक्काहरू पनि अनुसन्धानका लागि महत्त्वपूर्ण प्रमाण बनेका छन् । कालो र खिइएका धातुका टुक्राजस्ता देखिएका सिक्का एक्स–रे परीक्षणपछि रोमन सम्राट कन्स्टान्टाइनकालीन रहेको पुष्टि भएको छ । एल्टेनबर्गका अनुसार यस्ता वस्तुहरूले भूमिगत तहहरूको समय निर्धारण गर्न अमूल्य सहयोग पुर्याउँछन् ।
रोमनकालीन अवशेषलाई पुरातत्त्वविद्हरूले विशेष महत्त्वका साथ हेरेका छन् । रोमन शासनकालमा पेरिसलाई ‘लुटेटिया’ भनिन्थ्यो र त्यसको केन्द्र नदीको बायाँ किनारमा रहेको मानिन्छ । रोमन साम्राज्य पतनपछि मानिसहरू फेरि इले डे ला साइटतर्फ फर्किए, जहाँपछि नोट्रे डेम निर्माण भयो । पुराना भवनबाट निकालिएका ढुङ्गाले टापुलाई मजबुत बनाइएको प्रमाण पनि टोलीले भेटेको छ । एउटा विशाल रोमन भवनको ढोकाको भाग काटेर उल्टो पार्दै सडक निर्माणमा प्रयोग गरिएको अवशेष पनि फेला परेको छ ।
उत्खननबाट निकालिएको प्रत्येक वस्तु पछि पेरिसको पुरातत्त्व केन्द्रमा पठाइन्छ, जसलाई कोलोनाले ‘पेरिसको विशाल पुरातात्त्विक भण्डार’ भनेको छ ।
फ्रान्समा यस्ता उत्खनन प्रायः नयाँ निर्माण कार्यसँगै सम्भव हुने गर्छन् । एल्टेनबर्गका अनुसार नोट्रे डेम क्षेत्रमा यस्तो अनुसन्धान सम्भव हुनुको कारण पेरिस सहरले सार्वजनिक चोकलाई पुनः डिजाइन गर्ने निर्णय गर्नु हो ।
नयाँ चोक सन् २०२८ सम्ममा तयार हुने लक्ष्य राखिएको छ । त्यहाँ १६० नयाँ रूख रोपिनेछन्, ढुङ्गामाथि पानीको पातलो तह बहाइनेछ र बढ्दो गर्मीको सामना गर्न चिसोपन दिने संरचना बनाइनेछ । अहिले घाममा लामबद्ध हुने पर्यटकहरू भविष्यमा छायाँमुनि क्याथेड्रल प्रवेशको प्रतीक्षा गर्न सक्नेछन् । पुरानो भूमिगत पार्किङस्थललाई आगन्तुक केन्द्रका रूपमा पुनः सञ्चालन गर्ने योजना पनि छ ।
तर पुरातत्त्व टोलीको ध्यान अझै जमिनमुनि छ । उनीहरू रोमन तहभन्दा पनि तल पुगेर पेरिसको पहिलो पहिचानसँग जोडिएका गौल सभ्यताका सङ्केत खोज्न चाहन्छन् । एल्टेनबर्गले भने, “हाम्रो आशा पहिलेभन्दा पनि अझ पुरानो इतिहाससम्म पुग्ने हो ।” रासस



प्रतिक्रिया