काठमाडौं र दिल्लीतिर सुनिएका गड्याङगुडुङका आवाज त्यति प्रिय छैनन् : बाबुराम


काठमाडौं, जेठ २० । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण र ‘द हिन्दुस्तान टाइम्स’मा प्रकाशित उनको लेखलाई लक्षित गर्दै नेपाल-भारत सम्बन्धबारे आफ्नो गम्भीर धारणा सार्वजनिक गरेका छन्।

भट्टराईले यतिबेला काठमाडौँ र दिल्ली दुवैतिर सुनिएका राजनीतिक गड्याङगुडुङका आवाजहरू त्यति प्रिय नरहेको जिकिर गर्दै नेपाल-भारत सम्बन्धमा विकास साझेदारी र सभ्यता-संस्कृतिको कुरा गरुन्जेल दुवैतर्फ खुसी छाउने तर यसको भित्री पाटो निकै जटिल रहेको उल्लेख गरेका छन्। आफ्नो कार्यकालमा तत्कालीन पार्टीभित्रै विरोध हुँदाहुँदै पनि देशको विकासका लागि ‘बिप्पा’ सम्झौता गरेको स्मरण गर्दै उनले सम्बन्धको पर्दापछाडि सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ताको गम्भीर मुद्दा लुकेको बताएका छन्।

भट्टराईका अनुसार नेपाल-भारत सम्बन्ध सधैँ उतारचढावपूर्ण रहनुको मुख्य जरो कारण भारतीयहरूको दिलदिमागमा अङ्ग्रेजको पालादेखि जमेर बसेको ‘सुरक्षाको मामिलामा हिमालको सेरोफेरो सबै मेरो’ भन्ने सोच र नेपालीहरूमा गहिरोसँग गढेको ‘सिक्किमीकरण’को त्रास हो।

यही मनोविज्ञान र सीमा विवादका कारण दुई देशको सम्बन्ध सिसिफसको कथा जस्तै एउटै दुष्चक्रमा घुमिरहेको तर्क गर्दै उनले यही गाँठो फुकाउन आफूले ‘प्रबुद्ध व्यक्तिहरूको समूह (इपीजी)’ को अवधारणा अघि सारेको स्पष्ट पारेका छन्। हाल इपीजीको प्रतिवेदन अलपत्र अवस्थामा परेकोमा चिन्ता व्यक्त गर्दै उनले रास्वपा सभापति लामिछानेको वर्तमान दिल्ली भ्रमण यो पुरानो दुष्चक्र तोड्न सफल रहोस् भनी कामनासमेत गरेका छन्।

यस्तो छ उनले फेसबुकमा लेखेको स्टाटस

रास्वपा सभापति रवि लामिछानेको The Hindustan Times मा प्रकाशित लेखले नेपाल र भारतमा राम्रै तरंग ल्याएको छ। त्यसमा हाम्रो पनि सहमति नै छ। खाशगरी नेपाल-भारत सम्बन्धको मामिलामा विकास साझेदारी र सभ्यता/संस्कृति (‘रोटी-बेटी’) का कुरा गरून्जेल दुबैतिर वाहीवाही नै हुन्छ। मेरो पालामा आफ्नै तत्कालीन पार्टीभित्रका एकथरिको बिरोधका बाबजुद मैले BIPPA सम्झौता गर्दा अब विकासको ओइरो लाग्ने भो भनेर दुवैतर्फ खुशी छाएकै हो।

तर कथाको त्यो बाहिर देखिने पाटो मात्रै हो। अर्को खुला नदेखिने तर भित्रभित्रै पुतपुताइरहने, दुबै पक्षले मनमनै गुनगुनाइरहने र सधैं दुःख दिइरहने गम्भीर पाटो पनि छ। त्यसबारे हामी दुवैतर्फका जिम्मेवार मान्छेहरू खुला रूपमा बौल्दैनौं तर खाष्टोमुनि मुड्की बजारीरहन्छौ! त्यो हो सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ताको कुरो! त्यसको पनि गाँठी कुरा हो- भारतीयहरूको दिलदिमागमा अंग्रेजको पालादेखि जमेर बसेको ‘सुरक्षाको मामिलामा हिमालको सेरोफेरो सबै मेरो’ ( Himalayan Frontier) भन्ने सोंच! (सीमा विवाद त्यसैको अभिव्यक्ति हो)।

अनि अर्कोतिर हामी नेपालीहरूमा गहीरोसंग गडेर बसेको राष्ट्रिय सार्वभौमसत्ताको बिषयमा सधैं झस्काइरहने ‘सिक्किमीकरण’को खतराको त्रास! यही जरो कारणले नेपाल-भारत सम्बन्ध लामो समयदेखि ग्रिस मिथकको सिसिफसको कथा दोहोर्याउन अभिशप्त भैरहेछ! यहीँ गाँठो फुकाउन मैले नजिकबाट भारत र नेपालका जिम्मेवार मानिसहरु र आम जनसमुदाय समेतको मनोविज्ञान बुझेको आधारमा आफु प्रम छँदा राम्रैसंग भित्री र बाहिरी तयारी गरेर EPG (प्रबुद्ध ब्यक्तिहरूको समूह) को अवधारणा अघि सारेको थिएँ। परन्तु पछि गठित EPG को प्रतिवेदन अहिलेसम्म मृत्युशैय्यामा छट्पटाइरहेको जगजाहेरै छ। रवि लामिछानेजीको वर्तमान दिल्लीभ्रमण यो दुष्चक्र तोड्न सफल रहोस्! परन्तु यतिवेलै काठमाण्डौ र दिल्ली दुवैतिर सुनिएका गड्यांगगुडुंगका आवाज त्यति प्रिय छैनन्!