नारच्याङमा ७६औँ अन्नपूर्ण आरोहण दिवस मनाइयो


नारच्याङ (म्याग्दी), २१ जेठ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबार विविध कार्यक्रमका साथ ७६औं आरोहण दिवस मनाइएको छ ।

चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरदेखि नारच्याङसम्म खुला दौड प्रतियोगिता, पदयात्रा, आरोही र आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको विकास तथा प्रर्वद्धनमा योगदान गरेका व्यक्ति तथा संस्थालाई सम्मान र सांस्कृतिक कार्यक्रम गरेर दिवस मनाइएको हो ।सन् १९५० जुन ३ तारिखमा फ्रान्सका मौरिज हेर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । पर्यटन विभागको अभिलेखअनुसार आरोहणका हिसाबले जोखिमयुक्त मानिने अन्नपूर्णमा ७६ वर्षको अवधिमा ५७२ जनाले आरोहण गरेका छन् । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा अन्नपूर्ण आरोहण दिवस मनाइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

दिवसका अवसरमा आयोजित एक लाख २५ हजार पुरस्कार राशिको ३१ दशमलव छ किलोमिटर दूरीको दोस्रो अन्नपूर्ण हेर्जोग दौड प्रतियोगिमा पुरुषतर्फ ताप्लेजुङका रमेश लिम्बू र महिलातर्फ डोल्पाकी सुनसरी रोका विजयी भएका छन् ।

एथ्लेटिक्स सङ्घ गण्डकी र नेपाल भूतपूर्व खेलाडी मञ्चको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा नौ महिला र १२ जना पुरुष सहभागी भएको सो प्रतियोगिता अन्नपूर्ण गाउँपालिका–४ का वडाअध्यक्ष लोकबहादुर फगामीले बताए ।

लिम्बूले दुई घण्टा चार मिनेट र रोकाले दुई घण्टा ४७ मिनेट १६ सकेन्डमा उक्त दूरी पूरा गरी उपाधि हासिल गरेका हुन् । उनका अनुसार पुरुषतर्फ मनकुमार रोका काठमाडौँले दुई घण्टा १६ मिनेट ११ सकेन्डमा दूरी पार गरेर दोस्रो र दुई घण्टा २३ मिनेट १२ सकेन्डमा दूरी पार गरेर अर्जुन कुलिङ सोलुखुम्बुले तेस्रो स्थान हासिल गरेका छन् । यसैगरी, महिलातर्फ पुष्पा शेरमा पाँचथरले दुई घण्टा ५२ मिनेट सात सकेन्डमा दूरी पार गरेर दोस्रो र निर्मला राई (खोटाङ)ले २ घण्टा ५३ मिनेट ३० सकेन्डमा उक्त दूरी पार गरेर तेस्रो भएका छन्।

यसैगरी, प्रतियोगितामा पुरुषतर्फ लोकेन्द्र राई (सोलुखुम्बु), होमलाल श्रेष्ठ (रामेछाप), सनम गुरुङ (तनहुँ) र महिलातर्फ सन्देभा बुढा (जुम्ला), आशमा विक (रोल्पा), भिमु बुढा (जुम्ला)ले सन्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई एक लाख २५ हजार, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ४३ हजार ७५० नगदसहित प्रमाणपत्र र सान्त्वना हुनेलाई १२ हजार ५०० का दरले नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

तीन पटकसम्म अन्नपूर्ण हिमाल आरोहण गरेका छाङ्वा शेर्पा र महिला आरोही माया शेर्पालाई सम्मान गरिएको छ । मौरिस हर्जोग पदमार्गको पहिचान गरेका तेजबहादुर गुरुङ, उद्धारकर्मी इन्द्रसिंह शेरचन, नक्सा तयार पारेका चित्रबहादुर तिलिजा, प्रचारप्रसारमा योगदान गर्ने नेपाल पत्रकार महासङ्घ र सञ्चारकर्मी गणेश गुरुङ (सुरेन)लाई सम्मान गरिएको थियो ।

नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो ।

सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नक्साङ्कन र ‘मौरिस हेर्जोग’ नामकरण गरेको थियो । दिवसको अवसरमा नारच्याङको मौलिक पुर्ख्यौली र स्थानीय कलाकारहरुबाट नृत्य प्रस्तुत गरिएको वडा सदस्य श्याम पुर्जाले बताए।