गलेश्वरको सडक स्तरोन्नतिः स्लेट ढुङ्गा बिछ्याइयो


म्याग्दी, २१ जेठ । बेनी नगरपालिका-९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यकरणका लागि बजारभित्रको सडक स्तरोन्नति थालिएको छ । सडक स्तरोन्नतिका क्रममा ढुङ्गा बिछ्याइ आकर्षक र सुविधा सम्पन्न बनाउन थालिएको हो ।

हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वरको बजारभित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाइ पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यकरण योजना निर्माण गरी कार्यान्वयन थालिएको हो ।

गत मङ्सिरमा ४८ लाख ७४ हजार २७७ मा ठेक्का सम्झौता गरेको रिभर इडेग इञ्जिनियरीङ एण्ड बिल्डर्सले लक्ष्य अघि योजना सम्पन्न गरेको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए ।

यसवर्ष गलेश्वर मन्दिरको प्रवेशद्वारबाट बसपार्कतर्फ २९५ मिटर दूरीमा स्लेट बिछ्याइएको बेनी नगरपालिकाका सवइञ्जिनियर मिलन केसीले जानकारी दिए । गतवर्ष गलेश्वर प्रवेशद्वारबाट मन्दिरतर्फ १०६ मिटर दूरीमा सात हजार १०० घनमिटर ढुङ्गा बिछ्याउनुका साथै ५३ घनमिटर पर्खाल र २० मिटर पलम नाली निर्माण भएको थियो ।

“गलेश्वर बजार सौन्दर्यकरण योजना बेनी नगरपालिकाको गौरवको आयोजना हो”, वडाध्यक्ष केसीले भने, “गलेश्वर शिवालय क्षेत्र विकास कोष र बेनी नगरपालिकाको लागत साझेदारीमा योजना सञ्चालन गरिएको हो ।” उनका अनुसार सडकलाई सम्माउने, नाली र पर्खाल बनाएर भुइँमा ढलान र कालोपत्रको विकल्पमा दुई इन्च बाक्लो कटिङ्ग ढुङ्गा बिछ्याएर सिमेन्टले जमाइएको छ ।

मुक्तिनाथ र मुस्ताङ जाने आउने पर्यटक तथा भक्तजनलाई गलेश्वरमा भित्र्याउने र उहाँहरूको बसाइँ लम्बाउने उद्देश्यले सौन्दर्यकरण सुरु गरिएको वडाध्यक्ष केसीले बताए । गलेश्वर बजारभित्रको सडकमा ढुङ्गा बिछ्यापछि सार्वजनिक यातायातलाई बजार बाहिरको कालिगण्डकी कोरिडोर खण्डबाट मात्र आवतजावतको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

भुइँमा बिछ्याइने ढुङ्गामा असर नपर्ने गरी, बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपूर्तिका सवारीसाधन सञ्चालन गर्न मिल्ने संरचनाको डिजाइन गरिएको सवइञ्जिनियर केसीले जानकारी दिए ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको एउटा विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पूजाआजा र दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।

हिन्दू धर्म ग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्वमा विशेष मेला लाग्ने छ । दैनिक नित्य पूजाआजा हुने गर्दछ । रासस