टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने


अत्तरिया (कैलाली), २१ जेठ । कैलालीको टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने भएको छ । अन्तर व्यवस्थापिका मञ्चको आयोजनामा यही जेठ २३ र २४ गते सम्मेलन हुन लागेको हो ।

सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले आज प्रतिनिधिसभा, राष्ट्रियसभा तथा सातवटै प्रदेशसभाका पदाधिकारीको सहभागिता रहने जानकारी दिए । उनले सम्मेलनमा सङ्घीय संसद् तथा सबै प्रदेशसभाले हालसम्म निर्माण गरेका कानुन, भएका प्रगति, आगामी दिनमा गर्नुपर्ने काम र कठिनाइकाबारेमा छलफल तथा अनुभव आदानप्रदान गरिने बताए ।

“विशेषगरी राजनीतिक अस्थिरता र त्यसले सङ्घ तथा प्रदेशसभामा पार्ने प्रभाव एवं सभामुखको भूमिकामा अझ बढी पेचिलो हुने देखिन्छ,” उनले भने, “हामीले हाम्रो भूमिकालाई कानुन र संविधानको परिधिभित्र रहेर निष्पक्ष स्वतन्त्र हुँदाहुँदै पनि प्रश्न उठ्ने सन्दर्भमा अझ बढी छलफल गर्नुपर्ने जिम्मेवारी थपिएको जस्तो मलाई लाग्छ ।” उनका अनुसार सम्मेलनमा सभामुख, उपसभामुख र सचिवको अलगअलग प्यानल बनाई समूहगत छलफल गरिनेछ ।