प्रधानमन्त्रीलाई व्यक्तिगत सन्देश पठाएको आरोपमा पक्राउ परेका सचिवलाई मुद्दा चलाउने पर्याप्त आधार नपुगेपछि छाडिएको छ, जुन शुभ संकेत होइन : बस्नेत


काठमाडौं, जेठ २२ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले उपराष्ट्रपति कार्यालयका सचिवलाई प्रधानमन्त्री बालेन्द्र शाहलाई व्यक्तिगत सन्देश पठाएको आरोपमा नियन्त्रणमा लिनु शुभ संकेत नभएको बताएका छन्।

उनले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री शाहलाई व्यक्तिगत सन्देश पठाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर ८ घण्टा सोधपुछ गरेको जनाउँदै मुद्दा चलाउने पर्याप्त आधार नपुगेपछि सचिव पुष्करलाई छाडिएको बताएका छन्।

यदि एउटा सचिवले सार्वजनिक पदमा रहेका एक वरिष्ठ कर्मचारीलाई केवल ‘चेन अफ कमाण्ड’ उल्लङ्घन गरेको वा व्यक्तिगत सन्देश पठाएको विषयमा प्रहरी नियन्त्रणमा पर्नुपर्ने अवस्था हो भने प्रशासनिक स्वतन्त्रता, विधिको शासन र नागरिक अधिकारमाथि गम्भीर प्रश्न उठ्ने उनको तर्क छ।

साथै, बस्नेतले सुशासन भनेको राज्य शक्ति देखाएर डर सिर्जना गर्नु नभइ कानुन र संस्थागत मर्यादाको सम्मान गर्नु रहेको जिकिर गरेका छन्। प्रश्न उठाउने र संवाद गर्ने वातावरण साँघुरिँदै जाने हो भने त्यो लोकतन्त्रका लागि शुभ संकेत नहुने उनको भनाइ छ।

बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री बालेनलाई व्यक्तिगत सन्देश पठाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर ८ घण्टा सोधपुछ गर्‍यो। तर, मुद्दा चलाउने पर्याप्त आधार नपुगेपछि छाडियो। यदि एउटा सचिवले सार्वजनिक पदमा रहेका एक वरिष्ठ कर्मचारीलाई केवल ‘चेन अफ कमाण्ड’ उल्लङ्घन गरेको वा व्यक्तिगत सन्देश पठाएको विषयमा प्रहरी नियन्त्रणमा पर्नुपर्ने अवस्था हो भने प्रशासनिक स्वतन्त्रता, विधिको शासन र नागरिक अधिकारमाथि गम्भीर प्रश्न उठ्छ । सुशासन भनेको राज्य शक्ति देखाएर डर सिर्जना गर्नु होइन, कानुन र संस्थागत मर्यादाको सम्मान गर्नु हो। प्रश्न उठाउने र संवाद गर्ने वातावरण साँघुरिँदै जाने हो भने त्यो लोकतन्त्रका लागि शुभ संकेत होइन।’