उपराष्ट्रपति कार्यालयका सचिवले प्रधानमन्त्रीलाई म्यासेज लेखेर सिधै राजदूत मागेपछि…


काठमाडौं, जेठ २२ । । प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई नियन्त्रणमा लिएर छाडेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई विहिबार नियन्त्रणमा लिएर दिनभर सोधपुछपछि छाडेको हो । उनीमाथि करिब ७ घण्टासम्म सोधपुछ चलेको थियो ।

काठमाडौंका प्रहरी अधिकृतहरूले पुष्करलाई पक्राउ गर्नुको विस्तृत विवरण नखुलाए पनि उनलाई ुचेन अफ कमाण्डु मिचेको गम्भीर आरोप लागेको छ । स्रोतले बताएअनुसार आफ्नो पदीय मर्यादा विपरीत व्यक्तिगत स्वार्थका लागि सिधै प्रधानमन्त्री वालेन्द्र शाहलाई म्यासेज पठाएको विषयमा उनीमाथि अनुसन्धान गर्न नियन्त्रणमा लिइएको थियो ।

​स्रोतले बताएअनुसार सचिव पुष्करले प्रधानमन्त्री शाहसँग सिधै आफूलाई राजदूत बनाउन माग गर्दै म्यासेज पठाएका थिए । आफ्नो कार्यकाल जम्मा एक महिना मात्र बाँकी रहेको अवस्थामा पुष्करले प्रधानमन्त्रीसमक्ष सिधै राजदूत पदको ुडिमाण्डु गरेपछि उनलाई प्रधानमन्त्री कार्यालयको निर्देशनमा नियन्त्रणमा लिइएको थियो ।

गत ९ मंसिरमा तत्कालीन मुख्यसचिव एकनारायण अर्यालले अवकाश पाएपछि पुष्कर पनि मुख्यसचिवको बलियो दाबेदारका रूपमा हेरिएका थिए । तर, सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेपछि उनी ओझेलमा परेका थिए ।