इलाममा आजदेखि ‘केचना–कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट’


फिक्कल (इलाम), २३ जेठ । इलाममा आजदेखि दुई दिने ‘केचना–कञ्चनजङ्घा जिम्मेवार पर्यटन सम्मेलन’ (केचना–कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट) हुँदैछ । पूर्वी नेपालको दिगो र जिम्मेवार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगरपालिका नगर पर्यटन प्रवर्द्धन समितिको आयोजनामा सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा जिम्मेवार पर्यटन सम्मेलन हुन लागेको हो ।

सम्मेलनको उद्घाटन कोशी प्रदेश पर्यटन, वन तथा वातारणमन्त्री भीम पराजुलीले गर्ने कार्यक्रम तयार भएको इलाम नगरपालिका नगर पर्यटन प्रवर्द्धन समिति संयोजक सुशीला सापकोटाले जानकारी दिए । तराईदेखि हिमाली क्षेत्रसम्म फैलिएको जैविका विविधता, प्राकृतिक सम्पदा र सांस्कृतिक विशिष्टतालाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने लक्ष्यका साथ कार्यक्रम तय गरिएको उनले बताए ।

“हाम्रो मुख्य लक्ष्य नेपालको सबैभन्दा होचो भूभाग केचना र विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घालाई एउटै पर्यटकीय करिडोरका रूपमा विकास गर्ने, प्रचारप्रसारमार्फत पर्यटन प्रवर्द्धन गर्ने हो”, संयोजक सापकोटाले भने, “तराईदेखि हिमाली क्षेत्रसम्म फैलिएको जैविका विविधता, प्राकृतिक सम्पदा र सांस्कृतिक विशिष्टतालाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने लक्ष्य छ ।”

आइतबारसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल र भारतका पर्यटन व्यवसायी, संस्कृति अध्येता, वातावरणविद्, जनप्रतिनिधि र सरोकार भएका निकायका प्रतिनिधि सहभागी हुनेछन् । उनका अनुसार सम्मेलनमा जिम्मेवार पर्यटन, जैविक विविधता, वातावरणीय सन्तुलन, स्थानीय समुदायको सहभागिता एवं हरित अर्थतन्त्रका विषयमा राष्ट्रिय र अन्तरराष्ट्रिय विज्ञहरूबीच छलफल हुनेछ ।

आयोजकले सार्वजनिक गरेको कार्यतालिकाअनुसार कार्यक्रमको पहिलो दिन शनिबार ल्याण्डरोभर ¥याली, सांस्कृतिक झाँकीसहित ¥याली, विभिन्न डकुमेन्ट्री प्रदर्शनी, सांस्कृतिक कार्यक्रम र पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा एकल प्रस्तुति तथा सामूहिक छलफल हुनेछन् ।

एकल प्रस्तुतिअन्तर्गत ‘सीमा पार पर्यटन र पर्यटनमा वन्यजन्तु’ विषयमा अर्जुन कार्की, ‘केचना कञ्चनजङ्घा क्षेत्रका पदमार्गका रुटहरू र सम्भावना’ विषयमा डा प्रनिल उपाध्याय, ‘केचना कञ्चनजङ्घा करीडोरमा रेडपाण्डाको अवस्था’ विषयमा रेपाण्डा नेटवर्कका इलाम संयोजक राम रिमाल र ‘केचना कञ्चनजङ्घा क्षेत्रका पर्यटकीयस्थल’ विषयमा केशव द्यौरालीको प्रस्तुति रहने संयोजक सापकोटाले जानकारी दिए ।

सामूहिक छलफलअन्तर्गत ‘सीमापार पर्यटनः स्थानीयदेखि वैश्विक अवसरहरू’ विषयमा पश्चिम बङ्गालका राज वासु, पर्यटनकर्मी सदीक्षा कार्की, नेपाल पर्यटन बोर्डका सूर्य थपलिया, इलामका केदार शर्माबीच छलफल हुनेछ । छलफलमा पत्रकार सुजन तिम्सिनाले सहजीकरण गर्नेछन् ।

त्यस्तै इलाम परिचर्चाअन्तर्गत लेखक तथा पर्यट व्यवसायी वासुदेव बरालको कृति ‘कोशी गन्तव्य, अनुभव र सम्भावना’ बाट ‘आकाश जाने बाटो’ र ‘सुन्तलामुनिको डिनर’ विषयमा साहित्यकार प्रकाश थाम्सुहाङले परिचार्ता गर्नुहुने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

दोस्रो दिन आइतबार वन्यजन्जुसम्बन्धी जानकार नेत्र कार्कीको ‘विटुवि’, प्रोफेसर निरोज श्रेष्ठको ‘हस्पिटालिटी’, प्राध्यापक राजेन्द्र बरालको ‘पर्यटनमा जिम्मेवारीता’ र भारतका सेफ साइकुमार शर्माको ‘पाककला’ सम्बन्धी प्रस्तुति रहनेछ ।

त्यस्तै ‘पर्यटनमा हरित लगानीः दिगो पर्यटनका लागि वित्तीय साझेदारी’ विषयमा पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडा, नेपाल ट्राभल्स एण्ड टुर एसोसिएसन कोशीका अध्यक्ष पुन्य भट्टराई, उद्योग वाणिज्य सङ्घ कोशीका पर्यटन विभाग अध्यक्ष भबेस श्रेष्ठ, होटल एसोसिएसन कोशीका अध्यक्ष राजन श्रेष्ठ, होटल व्यवसायी सङ्घ कोशी अध्यक्ष राजन दङ्गाल र जिल्ला सहकारी सङ्घ इलाम अध्यक्ष लिलाप्रसाद थापाबीच छलफल हुनेछ । छलफलमा पत्रकार सुदीप श्रेषठले सहजीकरण गर्नेछन् ।

त्यस्तै ‘केचनादेखि कञ्चनजङ्घाः होचोदेखि अग्लो पर्यटकीय करिडोर र नेपाल सरकारको नीति’ विषयमा प्रतिनिधिसभाका सांसदहरू इलामका निश्कल राई, पाँचथरका नरेन्द्र केरुङ र ताप्लेजुङका तिलकुमार मेन्याङ्बोबीच छलफल हुनेछ । छलफलमा पत्रकार भीम चापागाईंले सहजीकरण गर्नेछन् ।

कार्यक्रमबाट पूर्वी नेपालको पर्यटन विकासका लागि दीर्घकादीन रणनीति तया गर्ने अपेक्षा रहेको आयोजकका सहसंयोजक देवीप्रसाद पौडेलले बताए । “पर्यटकको सङ्ख्या बढाउने मात्र नभई पर्यटनको माध्यमबाट स्थानीय समुदायले प्राप्त गर्ने लाभ, प्राकृतिक सम्पदाको संरक्षण र सांस्कृतिक सम्मानलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको छ”, उनले भने, “तराई, पहाड र हिमललाई जोड्ने यो अवधारणाले पूर्वी नेपालको पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा चिनाउने विश्वास लिएका छौँ ।”

कार्यक्रममा जिम्मेवार पर्यटन र हरित अर्थतन्त्रबारे प्यानल छलफलसँगै, पूर्वी नेपालको भूगोल झल्काउने ‘ल्यान्डस्केप ग्यालरी’, तस्विर तथा श्रव्यदृश्य प्रदर्शनी, स्थानीय कला तथा सांस्कृतिक प्रस्तुति, स्थानीय कला, हस्तकला प्रदर्शनी र इलामेली परिकारको प्रदर्शनी एवं बिक्री कक्षा सञ्चालन गरिने आयोजकका सचिव अर्जुन पोख्रलले जानकारी दिए । कार्यक्रमअन्तर्गत इलामका प्रमुख पर्यटकीय गन्तव्यहरू माईपोखरी, छिन्टापु, सन्दकपुरलगायतको अवलोकन भ्रमणसमेत व्यवस्था गरिएको उनले उल्लेख गरे ।

इलाममा श्रीअन्तु, कन्याम, सन्दकपुर, कालपोखरी, गुफापातल, माईपोखरी, छिन्टापु, गजुरमुखी, माङमालुङ, भालुढुङ्गा, कुइभिरजस्ता पर्यटकीय क्षेत्र छन् । कार्यक्रमले यस्ता पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको सचिव पोख्रेलले बताए । कार्यक्रमका लागि इलाम नगरपालिकाले नौ लाख सहयोग उपलब्ध गराएको आयोजकले जनाएको छ । -रामकुमार लिम्बू/रासस

Skip This

Omoda E5 Pro