रास्वपाको लक्ष्य केवल वैकल्पिक बन्ने मात्र होइन सक्षम राजनीतिक शक्ति बन्ने हो : सभापति लामिछाने


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र पुराना सोच, शैली र पदका लागि मरिहत्ते गर्ने प्रवृत्ति देखिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पार्टीको पहिलो महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरू सुरु भएकै दिन आज सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

रास्वपाको वडा र पालिका तहका अधिवेशनहरू सम्पन्न भई आज (जेठ २३ गते) र भोलि (जेठ २४ गते) जिल्ला अधिवेशनहरू भइरहेका छन्। यसै सन्दर्भमा उनले अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको विधि-पद्धति र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर भएको उल्लेख गरेका छन् ।

सभापति लामिछानेले स्थापनाकालका सीमित सहमतिका आधारमा पाइएका तदर्थ जिम्मेवारीलाई नै स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’ को हिसाब-किताब खोज्ने प्रवृत्तिको कडा आलोचना गरेका छन् । `चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ। पुरानै सोच, शैली र प्रवृत्ति बोकेर हामी नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न सक्दैनौ,´ उनले लेखेका छन् ।

उनले पार्टीको जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर (सांसद/मन्त्री) पाउने आशयले नेतृत्वका लागि लुछाचुँडी गर्ने प्रवृत्ति समेत देखिएको भन्दै त्यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।

उनले संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिहरू अपनाएर सक्षम, इमानदार र जनमैत्री नेतृत्व चयन गर्नुपर्ने उल्लेख गरेका छन् ।

अब रास्वपाको लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने मात्र नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेकोे उनको भनाइ छ ।

Skip This

Omoda E5 Pro