सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ


गोदावरी (कैलाली), २३ जेठ । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि स्थानीय र प्रदेश सरकार मिलेर काम गर्न आवश्यक रहेको बताएका छन् ।

आज धनगढीमा आयोजित ‘स्थानीय सरकार— अनुभव र उपलब्धि’ विषयक कार्यक्रम उद्घाटन गर्दै उहाँले सुदूरपश्चिम थुप्रै सम्भावना भएको क्षेत्र भएकाले अब मिलेर सुन्दर बनाउनुपर्ने बताए ।

प्रदेश प्रमुख मियाँले भने,“यो प्रदेश जलस्रोत, वन जङ्गल र सुन्दरताका हिसाबले देशभरमै अग्रस्थानमा छ । सबै मिलेर काम गरेमा सिङ्गो देशले नै यहाँबाट लाभ लिनसक्छ । त्यसैले प्रदेश र स्थानीय सरकारकाले अरु सबैलाई साथमा लिएर काम गर्नुपर्छ ।”

उनले संविधानले नै तीन तहका सरकारले गर्ने काम प्रष्ट रूपमा छुट्याएको उल्लेख गर्दै सोहीअनुसार आफ्नो जिम्मेवारीमा रहेका काम गर्नुपर्नेमा जोड दिए । “स्थानीय, प्रदेश र सङ्घीय सरकारले गर्ने कामबारे प्रष्ट व्यवस्था छ । त्यसको मर्मलाई आत्त्मसात गर्दै जिम्मेवारी पूरा गरेमा सङ्घीयतालाई सफल पार्न सकिन्छ । त्यसैले विकासका लागि हातेमालो गरौँ”, प्रदेश प्रमुख मियाँले भने ।

‘असल अभ्यास, आशाको सञ्चार’ नाराका साथ आयोजित उक्त कार्यक्रममा सुदूरपश्चिमका ३० वटा स्थानीय तहका असल अभ्यासबारे जानकारी प्रस्तुत गरिएको थियो । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, प्रदेशका स्थानीय तह र युनिसेफको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । रासस

Skip This

Omoda E5 Pro