काठमाडौं, जेठ २३ । भारतको सहयोगमा २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत सम्पन्न ७२ स्वास्थ्य संस्था तथा १२ सांस्कृतिक सम्पदा परियोजना ‘भर्चुअल’ रूपमा हस्तान्तरण गरिएका छन् ।
भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई आज भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सो परियोजना हस्तान्तरण गरेका हुन् । त्यसैगरी, उनीहरूले आजै भारत र नेपालको ‘राष्ट्रिय भुक्तानी प्रणाली इन्टरफेस’बीच सीमा–पार व्यक्तिगत रेमिट्यान्सलाई सहज बनाउनका लागि जोड (लिङ्केज) संयुक्त रूपमा शुभारम्भ गरेकविदेशमन्त्री जयशङ्करले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
त्यस्तै दुवै मन्त्रीको समुपस्थितिमा आजै नयाँ दिल्लीमा डिजिटल इन्डिया भाषिनी र काठमाडौं विश्वविद्यालयबीच ‘भ्वाइस फस्र्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार सहनिर्माण गर्न सम्झौता आदानप्रदान गरिएको छ।
आजै परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस जयशङ्करबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको थियो । परराष्ट्रमन्त्री खनाल विदेशमन्त्री जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
भ्रमणका क्रममा शुक्रबार परराष्ट्रमन्त्री खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबीच भेटवार्ता भएको थियो । त्यस्तै परराष्ट्रमन्त्री खनालले शुक्रबार नै नयाँ दिल्लीमा इन्डिया फाउन्डेसनद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेका थिए । उनी भ्रमण सम्पन्न गरी भोली काठमाडौं फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया