शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता


कञ्चनपुर, २४ जेठ । शुक्लाफाँटा नगरपालिकामा शनिबार साँझ सम्पन्न पालिकास्तरीय युवा सम्मेलनले जलवायु सङ्कटविरुद्ध युवाको सक्रिय भूमिका र वातावरण संरक्षणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।

चुरे विनाश, अस्वाभाविक गर्मी (लू) र बढ्दो प्लास्टिक प्रदूषणका कारण कञ्चनपुरसहितका क्षेत्र गम्भीर वातावरणीय जोखिममा परेका सम्मेलनको निष्कर्ष छ । विश्व वातावरण दिवसका अवसरमा शुक्लाफाँटा नगरपालिकाको समन्वय तथा निड्स नेपालको व्यवस्थापनमा आयोजित सम्मेलनका सहभागी युवाले जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

सहभागीहरूले जलवायु सङ्कट गम्भीर चुनौती बनेकामा चिन्ता व्यक्त गर्दै पर्यावरणीय सन्तुलन कायम राख्न बोटविरुवा हुर्काउने र बाँझो जग्गामा बिरुवा रोप्नुपर्नेमा जोड दिएका छन् ।

नगरप्रमुख रणबहादुर महराले वातावरण संरक्षण केवल सरकारी निकायको जिम्मेवारी नभई समुदाय र विशेष गरी युवाको साझा दायित्व भएको बताए । उनले युवाहरूले सकारात्मक सोच, सामाजिक नेतृत्व र स्वयंसेवामार्फत वातावरणीय अभियानलाई जनस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिए ।

नगरउपप्रमुख कल्पना पन्तले जलवायु परिवर्तनका कारण वर्षाको स्वरूप बदलिँदै गएको, अत्यधिक गर्मी बढ्दै गएको तथा चुरे क्षेत्रको क्षयीकरणले वातावरणीय सन्तुलनमा गम्भीर असर पारिरहेको बताए । प्राकृतिक स्रोत संरक्षण र वातावरणमैत्री जीवनशैली अपनाउन नसके भविष्यमा पानी, कृषि उत्पादन र जैविक विविधतामा थप संकट उत्पन्न हुन सक्ने उनको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले विश्व वातावरण दिवसको सान्दर्भिकता, स्थानीय तहमा देखिएका वातावरणीय चुनौती तथा युवा जनशक्तिको भूमिकाबारे चर्चा गरे । उनले वातावरणीय असन्तुलनले मानव स्वास्थ्यमा असर पारिरहेको उल्लेख गर्दै स्वस्थ जीवनशैली, योग, मानसिक स्वास्थ्य र प्रकृतिसँगको सम्बन्धलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए ।

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्र भण्डारीले युवाको सहभागिता, नेतृत्व विकास र बढ्दो युवा पलायनका चुनौतीबारे धारणा राख्दै स्थानीय विकास, वातावरण संरक्षण र सामाजिक रूपान्तरणका क्षेत्रमा युवाहरूलाई अवसर सृजना गर्नुपर्ने बताए ।

वातावरण संरक्षणमा निरन्तर पैरवी गर्दै आएका केशवराज पन्तले जलवायु परिवर्तनका कारण पारिस्थितिकीय प्रणालीमा परेको प्रभाव, जैविक विविधताको संरक्षण र स्थानीय स्तरमा अपनाउन सकिने अनुकूलनका उपायबारे प्रस्तुति दिए । उनले वन, जलस्रोत र वन्यजन्तुको संरक्षणलाई जलवायु सङ्कट समाधानको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने उल्लेख गरे ।

वातावरण संरक्षणअभियन्ता सरस्वती पुरी बमले प्लास्टिकजन्य प्रदूषण वातावरणका लागि प्रमुख चुनौती बनेको बताउँदै यसको प्रयोग न्यूनीकरण, फोहरको उचित व्यवस्थापन र समुदायस्तरीय सरसफाइ अभियानमा युवाको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे ।

सम्मेलनमा युवा अभियन्ता दुर्गा वडुवाल र विष्णुदत्त अवस्थीले युवा नेतृत्व, सहभागिता र सामाजिक जिम्मेवारीका विषयमा सहजीकरण गरेका थिए । सहभागी युवाहरूले वातावरण संरक्षण, सरसफाइ, जलवायु परिवर्तन न्यूनीकरण तथा समुदायस्तरमा सञ्चालन गर्न सकिने अभियानबारे समूहगत छलफलसमेत गरेका थिए ।

छलफलपछि जारी प्रतिबद्धतापत्रमा वातावरण तथा प्राकृतिक स्रोतहरूको दिगो उपयोग गर्दै संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने, एकपटक प्रयोग हुने प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरण गरी वातावरणमैत्री विकल्पलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।

घर, विद्यालय, कार्यस्थल तथा समुदायलाई सफा, स्वच्छ र स्वस्थ राख्न नियमित सरसफाइ अभियानमा सहभागी हुने, फोहरलाई स्रोतमै वर्गीकरण गरी पुनःप्रयोग, पुनःचक्रण (रिसाइकल) तथा उचित व्यवस्थापनलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाइएको छ ।

युवाले वातावरण संरक्षण, सरसफाइ तथा जलवायु अनुकूलनसम्बन्धी जनचेतना अभिवृद्धिका लागि समुदायमा सक्रिय रूपमा सूचना र सन्देश प्रवाह गर्ने, वृक्षारोपण, हरियाली प्रवर्द्धन तथा जैविक विविधता संरक्षणका कार्यक्रममा निरन्तर सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मानव र वन्यजन्तुबीचको सहअस्तित्व प्रवर्द्धन गर्दै वातावरणीय सन्तुलन कायम गर्न योगदान पु¥याउने, स्थानीय सरकार, विद्यालय, सामुदायिक संस्था तथा अन्य सरोकारवालासँग सहकार्य गरी वातावरण संरक्षणका अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

युवाले वातावरण संरक्षणलाई व्यक्तिगत तथा सामाजिक जिम्मेवारीका रूपमा ग्रहण गर्दै भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माणमा योगदान पु¥याउने तथा सामाजिक कुरीति, कुसंस्कार तथा लागू पदार्थ दुव्र्यसनविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

सम्मेलनमा नगरपालिकाका १२ वटै वडाका ७० जना युवासहित जनप्रतिनिधि, वातावरणविद्, सञ्चारकर्मी र सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए । सम्मेलनले सन्तोष धामीको संयोजकत्वमा ११ सदस्यीय ‘जलवायु उत्थानशील युवा मञ्च’ तदर्थ समिति गठन गरेको छ । रासस

Skip This

Omoda E5 Pro