गोरखा । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनमा आज सम्बोधन गर्दै सांसद गुरुङले सार्वजनिक पदमा रहँदा उठेका सवालहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको बताए ।
अधिवेशनलाई सम्बोधन गर्दै उनले भने ‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु ।’
छानबिन समितिसँगको त्यो ‘ठट्यौली’ प्रसंग
बयानका क्रममा घटेको एउटा रोचक प्रसंग कोट्याउँदै गुरुङले कार्यक्रममा ठट्यौली शैलीमा भने, ‘ समितिले मलाई यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो ? भनेर प्रश्न गर्यो । मैले पनि सहज रूपमा छानबिन समितिलाई नै ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त’ भनेर प्रतिप्रश्न गरिदिएँ ।’
उनले छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताए ।
‘पुनः गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनू‘
आफू निर्दोष सावित हुने र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिने सम्भावनाप्रति सङ्केत गर्दै गुरुङले आफ्ना शुभचिन्तकहरुलाई एउटा फरक आग्रह समेत गरे । उनले भने ‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला ।’
पार्टी नेतृत्वलाई सुझाव : ‘जिल्लाकै नेता जिल्लामै बस्नुपर्छ’
सम्बोधनका क्रममा सांसद गुरुङले रास्वपाको सङ्गठन निर्माण र आगामी नेतृत्वको कार्यशैलीका बारेमा पनि स्पष्ट धारणा राखे । अब बन्ने जिल्ला सभापति राजधानी केन्द्रित हुन नहुने उनको तर्क थियो । ‘अब बन्ने सभापतिले जिल्लामै बसेर पार्टीका गतिविधिहरू अगाडि बढाउनुपर्छ,’ गुरुङले भने, ‘राजधानीमा बसेर जिल्लाको सभापति बन्ने हो भने चुनावका बेला मात्र जनतामाझ पुगिन्छ, जसले पार्टीलाई फाइदा गर्दैन ।’



प्रतिक्रिया