काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) वीर अस्पतालले यस वर्षको जुन महिनाको अन्त्यसम्म सम्पूर्ण ब्रेन ट्युमरको शल्यक्रिया (अपरेसन) शुल्क पूर्ण रूपमा मिनाहा गर्ने घोषणा गरेको छ। विगत दुई वर्षदेखि ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गर्दै आएको परम्परालाई निरन्तरता दिँदै अस्पतालले यो लोककल्याणकारी निर्णय गरेको हो। राष्ट्रिय ब्रेन ट्युमर केन्द्र (NBTC) द्वारा विश्व ब्रेन ट्युमर दिवस (जुन ८) को अवसरमा आयोजित कार्यक्रममा गरिएको यस घोषणाले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन बाध्य सर्वसाधारण बिरामीहरूलाई प्रत्यक्ष रुपमा ठूलो राहत पुग्ने विश्वास गरिएको छ।

सोही अवसरमा केन्द्रले नेपालभरका २० भन्दा बढी न्युरो केन्द्रहरूको तथ्याङ्क समेटिएको ‘राष्ट्रिय बहुकेन्द्रीय ब्रेन ट्युमर तथ्याङ्क’ सार्वजनिक गरेको छ। उक्त अध्ययन प्रतिवेदन अनुसार नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या वर्षेनि चिन्ताजनक रूपमा बढिरहेको पाइएको छ। २०८१ मा करिब २,६०० जना बिरामीको उपचार भएकोमा सन् २०८२ मा यो संख्या १५.४ प्रतिशतले वृद्धि भई कुल ३,००० पुगेको तथ्याङ्कले देखाएकाे छ ।

सार्वजनिक तथ्याङ्क अनुसार ब्रेन ट्युमरको जोखिम पुरुष र महिला दुवैमा समान देखिएको छ। सन् २०८२ मा उपचारमा आएका कुल बिरामीमध्ये पुरुष ५०.०७ प्रतिशत (१,५०२ जना) र महिला ४९.९३ प्रतिशत (१,४९८ जना) रहेका छन्। बिरामीहरूको औसत उमेर ४६.३२ वर्ष रहेको र सबैभन्दा बढी ३० देखि ५० वर्ष उमेर समूहका उत्पादनशील नागरिकहरू यस रोगबाट प्रभावित भएको पाइएको छ।
भौगोलिक आधारमा सबैभन्दा बढी ३६.४ प्रतिशत बिरामी बागमती प्रदेशबाट आएका छन् भने कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकमा स्वास्थ्य सेवाको पहुँच अझै पनि अत्यन्तै कम रहेकाले सेवाको समान वितरणमा तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ।
चिकित्सकहरूका अनुसार दुवै वर्ष ग्लियोमा (Glioma) सर्वाधिक देखिने ट्युमरका रूपमा रह्यो। तर, सन् २०८२ मा ‘उच्च-ग्रेड ग्लियोमा’ (HGG) को अनुपात ४३.१ प्रतिशतबाट बढेर ५५.९ प्रतिशत पुग्नुले बिरामीहरू सुरुवाती चरणमा भन्दा पनि रोग निकै जटिल वा गम्भीर अवस्थामा पुगेपछि मात्रै उपचारका लागि अस्पताल आउने गरेको डरलाग्दो प्रवृत्तिलाई संकेत गर्छ। अर्कोतर्फ, मेनिन्जियोमा (Meningioma) को हिस्सा सन् २०८१ को ७.४ प्रतिशतबाट बढेर सन् २०८२ मा २७.१ प्रतिशत पुगेको छ भने सुखद पक्ष, ‘ग्रेड ३ मेनिन्जियोमा’ को दरमा १५ प्रतिशतले कमी आएको छ।
केन्द्रका संस्थापक अध्यक्ष प्रा .डा. राजीव झाले नेपालमा ब्रेन ट्युमरका बिरामी बढ्दै गएकाले प्रारम्भिक अवस्थामै रोगको पहिचान र उपचार हुन सके धेरैको ज्यान जोगाउन सकिने बताएका छन्। डा. अध्यक्ष झाका अनुसार “नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या वर्षेनि बढिरहेको छ। प्रारम्भिक अवस्थामा नै निदान र उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिन्छ । यही सन्देश विश्व ब्रेन ट्यूमर दिवसको मूल मर्म हो।”
नेपालभित्रै जटिल प्रकारका ब्रेन ट्युमरको पूर्ण र आधुनिक उपचार सम्भव बनाउनका लागि हाइब्रिड अपरेटिङ रुम, रेडियोसर्जरी मेसिन र इन्ट्राअपरेटिभ ट्युमर फ्लोरेसेन्स जस्ता प्रविधिको तत्काल आवश्यकता रहेको केन्द्रले जनाएको छ।
यसै समारोहका बीच नेपालको न्युरोअन्कोलोजी सेवामा उत्कृष्ट योगदान पुर्याएबापत डा. चारधाम बुढाथोकीलाई औपचारिक रूपमा “Champion of NeuroOncology Care 2026” उपाधिद्वारा विशेष सम्मान गरिएको छ। यो तथ्याङ्क राष्ट्रिय ब्रेन ट्युमर केन्द्र र राष्ट्रिय न्युरोसर्जिकल रेफरल केन्द्रको आयोजना तथा नाम्स वीर अस्पताल, नेसोन (NESON) र देशभरका २० भन्दा बढी न्युरो केन्द्रहरूको सहकार्यमा सार्वजनिक गरिएको हो।



प्रतिक्रिया