एन्फामाथिको हस्तक्षेपलाई लिएर फिफा र एएफसीले राखेपलाई दियो कडा चेतावनी, निलम्बनसम्मको तयारी !


काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको हस्तक्षेप लाई लिएर कडा चेतावनी दिएको छ ।

एन्फाले ५ दिनअघि प्राप्त गरी हालै सार्वजनिक गरेको संयुक्त पत्र अनुसार राखेपले गत जेठ २ गते एन्फामाथिको निलम्बन फुकुवा गरे पनि चैत १२ गते चालेका अन्य कदमहरू अझै फिर्ता लिएको छैन । यसै विषयलाई लिएर फिफाले नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्नेसममको चेतावनी दिएको हो ।

राखेपले एन्फालाई निर्वाचन रोक्न, विधान संशोधन गर्न र जिल्ला संघहरूको निर्वाचन गराउन दिएको सो निर्देशनलाई फिफा र एएफसीले ‘तेस्रो पक्षको अनुचित हस्तक्षेप’ ठहर गरेका छन् ।

फिफा र एएफसीले आगामी जेठ २८ गतेभित्र राखेपको चैत १२ को निर्णय पूर्ण रूपमा खारेज गरिएको लिखित प्रतिबद्धता माग गरेका छन् ।

यदि तोकिएको समयसीमा भित्र चित्तबुझ्दो जवाफ नआएमा नेपाललाई तत्काल निलम्बन गर्ने जनाइएको छ ।

Skip This

Omoda E5 Pro