हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अपराध अनुसन्धानलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
बुधबार हेटौंडामा आयोजित बागमती प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले सुरक्षा र न्यायको क्षेत्रमा प्रदेश सरकारका तर्फबाट योगदान गर्न तयार रहेको बताए । अपराधीलाई कानुनी दायरामा ल्याउनु प्रहरीको मुख्य जिम्मेवारी भए पनि कुनै पनि व्यक्ति विना अपराध अन्यायमा पर्न नहुने उनको भनाई छ ।
सीमित स्रोत र साधनका बाबजुद नेपाल प्रहरीले जनतालाई प्रभावकारी सेवा दिएको र बागमती प्रदेश सरकारले हालसम्म प्रहरीका विभिन्न भवन, चौकी र कार्यालय निर्माणका लागि १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको उनले बताए ।
‘तत्काल कोही अपराधी छुटे पनि उसलाई पछि कानुनी दायरामा ल्याउन सकिन्छ । तर निरपराध व्यक्तिलाई अपराधी साबित गरियो भने त्यो संगठन र न्याय प्रणालीकै लागि ठुलो त्रुटि र अन्याय हुनेछ । कार्यसम्पादनका क्रममा यस्ता गल्तीले सुरक्षा बलको साख गिराउँछ । हामी प्रहरीलाई प्रविधि, साधन र स्रोत हस्तान्तरण गर्न आतुर छौँ । ताकि डीएनए परीक्षण जस्ता कामका लागि ७ वर्षसम्म कुर्नुपर्ने अवस्था नआओस्,’ उनले भने ।



प्रतिक्रिया