कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने महेन्द्र


काठमाडौं, जेठ २८ । इलामको फाकफोकथुम गाउँपालिका–५ लुम्देका महेन्द्र घिमिरे बिहान उठ्ने बित्तिकै कुखुराको खोरमा पुग्छन् । खोर सफा गर्ने, दाना, पानीको व्यवस्थापन गर्ने, फ्रेस हाउसमा कुखुराको मासु तयार गर्ने र बजार पठाउने काम उनको दैनिकी हो ।

केही वर्षअघि वैदेशिक रोजगारीमा रहेका घिमिरे अचेल आफ्नै गाउँमा सफल पोल्ट्री व्यवसायीका रूपमा परिचित छन् । उनले सञ्चालन गर्नुभएको नवमी पोल्ट्री फार्म एन्ड फ्रेस हाउस अहिले स्थानीयस्तरमा मासु उत्पादन तथा बिक्रीको भरपर्दो केन्द्र बनेको छ ।

विक्रम संवत् २०६७ मा वैदेशिक रोजगारीका लागि विदेश पुगेका उनी पाँच वर्षपछि २०७१ सालमा गाउँ फर्किए । “विदेशबाट फर्किएपछि के गर्ने भन्ने अन्योल थियो । गाउँमै केही गर्ने सोच त थियो, तर कुन व्यवसाय रोज्ने भन्ने स्पष्ट योजना थिएन,” उनले भने, “अन्ततः २०७२ सालबाट कुखुरापालन व्यवसाय सुरु गर्ने निर्णय गरेँ ।”

व्यवसाय सुरु गर्दा गाउँमा नियमित विद्युत् सुविधा थिएन । उनले ‘सोलार प्यानल’को सहारामा चल्ला पाल्ने प्रयास गरे । तर, आवश्यक तापक्रम कायम गर्न नसक्दा समस्या आयो । केही क्षति पनि बेहोर्नुपर्‍यो । त्यसपछि चल्ला हुर्काएर बिक्री गर्ने कामबाट अनुभव बटुल्दै व्यवसायलाई विस्तार गरेको उनि बताउछन् ।

हाल उनको फार्ममा करिब २०० वटा बिक्रीका तयारी कुखुरा र २५० वटा चल्ला छन् । जिउँदो कुखुरा प्रतिकिलो रु ४०० र काटेको मासु प्रतिकिलो रु ५०० मा बिक्री हुने गरेको छ । होलसेलमा प्रतिकिलो रु ३०० सम्ममा बिक्री हुने गरेको उनि बताउछन् । उत्पादन भएको कुखुरा मुख्यगरी पाँचथरको रवि र झापाको दमक बजारसम्म पुग्ने गरेको छ ।

“सुरुमा धेरै समस्या आए, तर हार मानिनँ,” घिमिरे भन्छन्, “कुखुरापालनमा नगद कारोबार प्रत्यक्ष हुने भएकाले छोटो समयमै आम्दानी देख्न सकिन्छ ।” व्यवसाय विस्तारसँगै केही समस्या अझै बाँकी छन् । लुम्दे क्षेत्र सदरमुकामबाट टाढा भएकाले चल्ला ल्याउन र उत्पादन बजारसम्म पुर्‍र्‍याउन ढुवानीको समस्या छ । यसले लागत बढाउने गरेको घिमिरेको अनुभव छ ।

उनको मेहनतलाई सरकारी सहयोगले थप बल दिएको छ । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले फाकफोकथुम गाउँपालिका, अन्य दुई पालिका र दायित्व संस्थासँगको त्रिपक्षीय साझेदारीमा वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजना सञ्चालन गरिरहेको छ ।

यस परियोजनामार्फत व्यवसाय विस्तारमा महत्वपूर्ण सहयोग पुर्‍याएको छ । उक्त कार्यक्रमअन्तर्गत उनले व्यावसायिक योजना निर्माणसम्बन्धी तालिम, आर्थिक अनुदान तथा आवश्यक सामग्री प्राप्त गरे । अनुदानबाट फ्रिज, खानेपानीका पाइप तथा कुखुरापालनका अन्य आवश्यक सामग्री व्यवस्थापन गर्न सकिएको छ । “कार्यक्रमले व्यवसायीहरूलाई एकापसमा भेटघाट र अनुभव आदानप्रदान गर्ने अवसर दियो,” उनि भन्छन्, “व्यावसायिक योजना बनाउन सजिलो भयो । अहिले नयाँ भवन निर्माणको तयारी पनि भइरहेको छ । आर्थिक सहयोग पाएको छु ।”

घिमिरेको फार्मले परिवारका दुई सदस्यलाई प्रत्यक्ष रोजगारी दिएको छ भने खोर सरसफाइ तथा अन्य काममा स्थानीय व्यक्तिहरूले पनि अवसर पाएका छन् । वार्षिक करिब रु आठ लाख आम्दानी गर्ने यो व्यवसायले गाउँमै बसेर पनि आत्मनिर्भर बन्न सकिने उदाहरण दिइएको गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले बताए । “सीमित स्रोत, यातायातको समस्या र प्रारम्भिक असफलतासँग जुध्दै उनले देखाएको लगनशीलताले गाउँमै उद्यम गर्न चाहने युवाका लागि प्रेरणादायी सन्देश दिएको छ,” अध्यक्ष खनालले भने, “उद्यम गर्न चाहने युवालाई प्रोत्साहनका कार्यक्रममा जोड्ने गरेका छौँ ।”

Skip This

Omoda E5 Pro