सरकारको ध्यान बजेट खर्च गर्ने मात्र नभई कलामार्फत उपलब्धि हासिल गर्नेमा केन्द्रित छ :सञ्चारमन्त्री


काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको समग्र विकास, विस्तार र सुदृढीकरणका लागि सरकारले ‘चलचित्र विधेयक २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइसकेको बताएका छन् ।

काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै उनले चलचित्रकर्मीहरूको भावना र चासोलाई पूर्ण रूपमा समेट्ने गरी नयाँ ऐन निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

प्रतिनिधि सभाबाट उक्त विधेयकलाई समितिमा पठाउने प्रस्ताव पारित भइसकेको उल्लेख गर्दै उनले भने, ‘पार्लियामेन्टमा चलचित्र विधेयक, २०८२ लाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउने प्रश्ताव पारित गरेर आएको छु। यो क्षेत्र यहाँहरूको दिल बसेको क्षेत्र हो, यहाँहरूको जिन्दगी जोडिएको क्षेत्र हो। यस क्षेत्रलाई माथि उठाउन त्यो विधेयकलाई कस्तो ऐनका रूपमा अगाडि बढाउनुपर्छ भन्ने विषयमा सरकारको तर्फबाट म हरसम्भव प्रयास गर्नेछु।’

सरकारको ध्यान केवल बजेट खर्च गर्नेतर्फ मात्र नभई उत्पादन, सिर्जना र कलामार्फत कसरी ठोस उपलब्धि हासिल गर्ने भन्नेमा केन्द्रित रहेको उनको भनाइ छ । चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँगको निरन्तर समन्वय र सल्लाहमा यसपटक बजेटको व्यवस्था गरिएको उनले बताए ।

Skip This

Omoda E5 Pro