काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठले खेलमैदानबाट खेलकुद क्षेत्रको विकास गर्ने स्थानमा पुग्दा थप जिम्मेवारी बोध महसुस भएको बताएका छन् ।
त्रिपुरेश्वरस्थित राखेप कार्यालयमा स्वागत तथा पदभार ग्रहण कार्यक्रमका अवसरमा नवनियुक्त उपाध्यक्ष श्रेष्ठले खेलमैदानमा खेल्दै यसै क्षेत्रको विकासका लागि काम गर्न पाउनु ठुलो अवसर रहेको बताए ।
खेल मैदानबाट खेल विकासमा आउँदा धेरै खुसी रहेको र आफूले गर्नुपर्ने काम पनि धेरै रहेको श्रेष्ठले बताए । उपाध्यक्ष श्रेष्ठले समग्र खेलविकासका लागि लागि पर्ने र त्यो सबै सरोकार पक्ष एक भएर मात्र सम्भव हुने विश्वास व्यक्त गरेका छन् । सबै एक भएर नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्याउनुपर्ने उनको भनाइ छ ।
नेपाल सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ जारी गरेपछि एकैपल्ट एक हजार चार सय ९४ जना पदाधिकारी एकमुष्ट पदमुक्त भएका थिए । यससँगै राखेपको कार्यकारी समितिसहित बोर्ड नै रिक्त भएको थियो । सोही पदमा बुधवार मात्र शिक्षा तथा खेलकुद मन्त्रालयले उपाध्यक्षमा विशाल श्रेष्ठसहित चार जना बोर्ड सदस्य नियुक्त गर्यो । चार सदस्यमा पूर्वक्रिकेटर शक्ति गौचन, बुद्धिचालकी पूर्वराष्ट्रिय च्याम्पियन मोनालिसा खुम्बु, टेबल टेनिसकी सिक्का सुवाल र जेनजी प्रदर्शनका क्रममा घाइते भएका पवन शाहीलाई राखेपको बोर्ड सदस्य नियुक्त भएका हुन् ।



प्रतिक्रिया