काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको सूचना विज्ञापन सम्बन्धी विभेदकारी तथा स्वेच्छाचारी निर्णय तत्काल खारेज गर्न माग गर्दै नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले दबाबमूलक धर्ना कार्यक्रम गरेको छ।
नेपाल पत्रकार महासङ्घको केन्द्रीय सर्कुलरअनुसार बबरमहलस्थित सडक विभाग परिसर बाहिर ब्यानर र प्लेकार्डसहित धर्ना कार्यक्रम सञ्चालन गरिएको हो।
उनीहरूले उक्त निर्णयले सञ्चारमाध्यमहरूबिच विभेद सिर्जना गर्नुका साथै प्रेस स्वतन्त्रतामाथि समेत प्रतिकूल असर पार्ने बताएका छन्।
पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक हकको संरक्षण गर्न, नागरिकको निर्बाध सूचना प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न तथा सञ्चार क्षेत्रलाई कमजोर बनाउने नीतिगत निर्णयहरू सच्याउन सरकारसँग माग गरेका छन्।



प्रतिक्रिया