काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बालश्रम अन्त्यका लागि राज्य, समाज र सरोकारवाला सबै पक्षको साझा पहल आवश्यक रहेको बताएका छन्।
विश्व बालश्रमविरुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता आङदेम्बेले प्रत्येक बालबालिकालाई सुरक्षित, सम्मानित र उज्ज्वल भविष्यसहित बाँच्न पाउने मौलिक अधिकारमै रहेको उल्लेख गरे। शिक्षा, स्वास्थ्य, संरक्षण र समुचित विकासका अवसरबाट वञ्चित गरी बालबालिकालाई श्रममा लगाउनु मानव अधिकारको गम्भीर उल्लङ्घन भएको उनको भनाइ छ।
उनले बालश्रमका कारण बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा नकारात्मक असर पर्ने मात्र नभई देशको समग्र विकास प्रक्रियामा समेत प्रतिकूल प्रभाव पर्ने बताए। नेपालले बाल अधिकार संरक्षण तथा बालश्रम उन्मूलनका क्षेत्रमा कानुनी र नीतिगत प्रबन्ध गरे पनि गरिबी, सामाजिक असमानता, अशिक्षा र चेतनाको अभावका कारण अझै पनि धेरै बालबालिका श्रममा संलग्न हुन बाध्य रहेको उनले उल्लेख गरे।
नेता आङदेम्बेले बालश्रममुक्त समाज निर्माणका लागि सरकार, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, अभिभावक तथा समुदायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताए। बालबालिकालाई विद्यालयमा टिकाइराख्ने, गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने तथा विपन्न परिवारको आर्थिक सशक्तीकरणमा जोड दिन उनले आग्रह गरे।
उनले बालश्रमको अन्त्य केवल कानुनी विषय नभई सभ्य, न्यायपूर्ण र समतामूलक समाज निर्माणसँग जोडिएको साझा दायित्व भएको स्पष्ट पारे।



प्रतिक्रिया