काठमाडौं, जेठ ३० । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीस्वरूप सञ्चालन गरेको क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत हालसम्म ६ लाख ८७ हजार ९३१ सदस्यको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको जनाएको छ।
पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा शनिबार बसेको समितिको बैठकले अभियानको प्रगति समीक्षा गर्दै विभिन्न निर्णय गरेको हो।
समितिका अनुसार डिजिटल प्रणालीमा रहेका कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये ५ लाख ३८ हजार ६२२ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन् भने १ लाख ४९ हजार ३०९ जनाको स्वयं अद्यावधिक फाराम वडा तहबाट अनुमोदनको प्रक्रियामा रहेको छ। यस्ता फाराम असार ५ गतेभित्र अनुमोदन गर्न वडा तहलाई निर्देशन दिइएको छ।
बैठकले उच्च हिमाली तथा विकट क्षेत्रका केही जिल्ला र बारा तथा खोटाङका लागि सदस्यता अद्यावधिकको समय असार ७ गतेसम्म तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका लागि असार १० गतेसम्म कायम गर्ने निर्णय गरेको छ। नयाँ क्रियाशील सदस्यता वितरण तथा फाराम प्रविष्टिको अवधि भने असार २० गतेसम्म रहनेछ।
समितिले विधानबमोजिम तोकिएको शुल्क नबुझाएका सदस्यलाई तत्काल शुल्क बुझाउन सम्बन्धित तहका सभापतिलाई निर्देशन दिएको छ। शुल्क नबुझाउने सदस्यले १५औँ महाधिवेशनको प्रक्रियामा भाग लिन नपाउने जनाइएको छ।
त्यस्तै, विविध कारणले सदस्यता नवीकरण वा अद्यावधिकबाट छुटेका सदस्यलाई प्रमाणसहित असार २० गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। सदस्यताको विवरण सच्याउनुपर्ने सदस्यले पनि असार महिनाभर प्रमाणसहित आवेदन दिन सक्ने निर्णय गरिएको छ। बैठकले ३५ वर्षमुनिका युवालाई लक्षित गरी क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गर्ने तथा विदेशमा रहेका क्रियाशील सदस्य र विषय विज्ञहरूको सदस्यता अद्यावधिक प्रक्रिया पनि असार २० गतेसम्म खुला राख्ने निर्णय गरेको छ।
समितिले क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता वितरणको कार्यलाई १५औँ महाधिवेशनको मूल कार्यतालिका प्रभावित नहुने गरी व्यवस्थापन गर्न पार्टी केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय समेत गरेको छ।



प्रतिक्रिया