बीपी राजमार्गमा असार १५ गतेभित्रै सडक किनाराबाट यातायात सञ्चालनकाे तयारी


काठमाडौँ । बीपी राजमार्गको भकुण्डेवेशी–नेपालथोक खण्डमा असार १५ गतेभित्रै सडक किनाराबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको छ । सडक डिभिजन भक्तपुरले वर्षायाममा खोलाको डाइभर्सनले दुख दिने अवस्थालाई मध्यनजर गर्दै मुख्य निर्माणधिन सडकबाटै सवारी साधन सुचारु गर्न लागेको हो ।

गत असोजमा आएको विनाशकारी बाढीले उक्त सडक खण्ड क्षतिग्रस्त भएको थियो । सामान्य वर्षा हुँदा पनि अहिलेको डाइभर्सन बगाएर सडक अवरुद्ध भइरहेकोले वर्षाअघि नै माथिल्लो भागबाट सवारी सञ्चालन गर्ने गरी काम गरिरहेको सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले बताए ।

२०८१ असोज १२ र १३ गतेको बाढीले पूर्ण रूपमा क्षतिग्रस्त भएको भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको २९ किलोमिटर सडक खण्डलाई तीन भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । पहिलो खण्डमा भकुण्डेबेँसीदेखि चारसयबेँसी ११.८ किमीको काम चलिरहेको छ । नवकान्तिपुर लामा जेभीले काम गरिरहेको यस खण्डको भौतिक प्रगति ३० प्रतिशतभन्दा बढी छ ।

दोस्रो खण्ड चारसयबेँसीदेखि डालाबेशी ८.५ कि.मी.हो । यसमा कमलजीत एवान जेभीले काम गरिरहेको छ । यस्तै, तेस्रो खण्ड अन्तर्गत डालाबेँसीदेखि वर्खेखोलासम्म जापानी सहयोग नियोग (जाइका)ले निर्माण गरिरहेको छ भने वर्खेखोलादेखि नेपालथोकसम्मको ४ किलोमिटर खण्डमा नेपाली निर्माण कम्पनीले काम गरिरहेको छ ।